२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रचण्डको कारणले अहिलेको सरकार बनेको हो : मिन विश्वकर्मा

सोमवार , फाल्गुण १९, २०८१

बुटवल, १९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कारणले अहिलेको कांग्रेस–एमालेको गठबन्धन बनेको बताएका छन् । उनले २०७९ सालको निर्वाचनको समयमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउन कांग्रेस तयार रहेको अवस्थामा प्रचण्ड कांग्रेस छाड्दै एमाले र एमाले छाड्दै कांग्रेस गर्दा दुई शक्ति मिल्नुपरेको तर्क समेत गरे । उनले प्रचण्डकै कारण अहिलेको सरकार बनेको दावी गरे ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको जिकिर गरे । सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरे पनि संसदमा लैजाँदा पार्टीहरुबीच असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गरे । उनले भने, ‘अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो । तर, अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन्, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन ।’

उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यदी हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे।

उनले कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गरे । उनले भने–‘उहाँले अध्यादेश पास गराउन विचार गरेर ल्याउनुपर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो । राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन् । कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन । ’

पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस अझ चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको जानकारी पनि गराए ।

कांग्रेसको महाधिवेशन सम्बन्धी सञ्चारकर्मीहरुको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेशन हुने बताउँदै २०÷२२ महिनापछिको अवस्थासम्म महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गरे ।

पार्टीको प्रचार विभाग संयोजक समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने समेत दावी गरे । उनले अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदै सहमति अनुसार नै कायम रहने उल्लेख गरे । उनले फरक प्रसंगमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसँग जोडेर गाली गर्ने परम्परा रहेको बताउँदै विकसित देशमा राजनीति शान्त हुने भए पनि नेपालमा हरेक १० वर्षमा व्यवस्था परिवर्तनसम्मको लागि भन्दै आन्दोलन हुँदा हरेक व्यक्ति राजनीतिमा होमिएको तर्क गरे । 

यता पूर्वराजा ज्ञानेन्द्र शाहको अधिव्यक्तिलाई संविधानको पूर्ण कार्यान्वयनको रुपमा हेरेको समेत तर्क गरे । उनले लोकतन्त्रको वाक स्वतन्त्रतालाई पूर्वराजाले उच्चतम प्रयोग गरेको बताउँदै उनको राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत बताए ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।