२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन

सोमवार , फाल्गुण १९, २०८१

दाङ, १९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्ण रूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मोतिपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जोड दिए । ‘यो अस्पतालले नीति, नियम, मापदण्ड पालना गरेको कुरा प्रतिवेदनबाट जान्न पाइयो । भविष्यमा पनि सरकारले बनाएको मापदण्ड अनुसार नै अघि बढ्नेछ’उनले भने–‘जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी छ ।’

उनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पुर्याउने नीति लिएको बताए । उपचार सेवा मात्र होइन, स्वास्थ्य र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले भने, ‘स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । त्यसैले राज्यका नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै निजी क्षेत्रका अस्पतालहरू अघि बढ्नुपर्छ । प्रदेश सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरु हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्छ । निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै, नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध छ ।’

भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।