२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संविधानको रक्षा गर्ने जिम्मा कांग्रेसको कांधमा : सुजाता कोइराला

बिहिवार , चैत्र ५, २०७७

बुटवल ५ चैत।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको बताएकी छन्। काँग्रेसका पूर्व सभापती तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहिबार बुटवलमा आयोजित बिचार गोष्ठिमा बोल्दै उनले  मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताएकी हुन। 

नेतृ कोईरालाले काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको उल्लेख गरिन्। उनले सहमती सहकार्य र एकताबाटै मुलुकलाइ सहि दिशा दिन काँग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्नेमा जोड दिईन। 

नेतृ कोईरालाले कम्युनिष्टहरुको सर्बसत्ताबाद र अधिनायकबादका बिरुद्ध काँग्रेस भित्र पनि सहमती र एकता आवश्यक रहेको बताइन। मुलुकलाइ सहि दिशा दिन अन्तराष्ट्रिय शक्तिहरुको पछि नलागि उनीहरुलाइ आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्ने नेतृ कोइरालाले बताइन। 

‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाइ पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन भनेर विदेशीलाइ पनि कन्भिन्स गर्नुहुन्थ्यो जसका कारण बाहय शक्तिले हस्तक्षेपकारी भुमिका खेल्न सक्दैनथे’ पुर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले भनीन। स्वर्गीय गिरीजाप्रसादले आजीवन प्रजातन्त्र, शन्ति र विकासकालागि लडेको स्मरण गर्दै उनले मुलुकको हितकालागि गिरीजाबाबु जस्तै निडर र दुरदृष्टि राखेर अगाडी बढ्न नेतृत्वलाइ आग्रह गरिन। 

व्यक्तिवादी चरित्र हावी हुँदा नेपाली काँग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाइ जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाइ आग्रह गरिन।

जि.पी.कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा भएको बिचार गोष्ठिमा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, पुर्व सभापती रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी, प्रदेश सांसद रमा अर्याल, पुष्पा चौधरी, बुटवल नगरसभापती खेलराज पाण्डे, फाउण्डेशनका केन्द्रिय सदस्य सुरेशराज चालिसे, अजय राइ, दुर्गा आर्चाय, फाउण्डेशनका रुपन्देही संयोजक चिरञ्जिवी पौडेल, सल्लाहकार चित्र केसी, सदस्य जेवि गुरुङ, काँग्रेस बुटवल नगर सचिव ज्योती भण्डारी लगायतले बोल्दै  स्वर्गीय कौइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि खेलेको भुमिकाको उच्च कदर गर्दै उहाँले देखाएको बाटोमा काँग्रेस निरन्तर लाग्नु पर्नेमा जोड दिए।