२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ई–रिक्सा व्यवस्थापनका लागि पालिकास्तरीय सहमति

बिहिवार , फाल्गुण २२, २०८१

भैरहवा, २२ फागुन । रुपन्देहीको सदरमुकाम समेत रहेको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा अटो तथा ई–रिक्सा व्यवस्थापन गर्न अन्तरपालिका समन्वय बैठकमा सहमति भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिकास्तरीय समन्वय बैठकले यसअघि भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने, अटो तथा ई–रक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो । 

सिद्धार्थनगरसहित, ओमसतिया, मायादेवी, सियारी गाउँपालिका र जिल्ला सुुरक्षा समितिबीच बसेको बैठकले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार तीनपांग्रे सवारीसाधन दर्ता नगरेका गाउँपालिकाहरुले तीनपांग्रे सवारीसाधन नियमन सञ्चालन तथा व्यवस्थापनको लागि मिति २०८१ माघ १३ मा भएको बैठकको निर्णयअनुसार तोकिएको समयावधिभित्र कतिपय गाउँपालिकाले कानून निर्माण लगायतका कार्यहरु गर्न बाँकी रहेको तथा कतिपय गाउँपालिकाले कानून निर्माण गरी दर्ता प्रक्रियामा रहेको देखिएकोले तीनपांग्रे सवारीसाधन व्यवस्थापन तथा नियमनको लागि चैत १० गतेभित्र कार्यसम्पन्न गर्ने निर्णय भएको छ ।

त्यस्तै तीनपांग्रे सवारीसाधनहरुको व्यवस्थापन तथा नियमनका सन्दर्भमा मिति २०८१ चैत ११ गतेदेखि सवारीसाधनको कागजात नियमित चेकजाँच कार्यलाई चुस्तदुरुस्त तथा व्यवस्थित गर्नका लागि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पालिकाका प्रहरीलाई जिम्मा दिने निर्णय समेत गरेको छ । तीनपांग्रे सवारीसाधनलाई चैत ११ गतेदेखि चेकजाँचका क्रममा जुन पालिकामा कारवाहीमा परेका हुन् सोही पालिकाको कानूनबमोजिम कारवाही गर्ने निर्णय समेत भएको छ ।