२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीपको उपाधि हेटौंडाका सोम लामालाई

शुक्रवार , फाल्गुण २३, २०८१

बुटवल, २३ फागुन । रुपन्देहीको बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसीपको उपाधि हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार रातिसम्म भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७–५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।    

बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा सुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउदा एघारौं सेट सरोजले जिते पनि बाह्रौं सेट जितेर सोमले उपाधिमाथि कब्जा जमाउन सफल भए ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिताको उपाधि विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले १ लाख १ हजार, हाइएस्ट ब्रेकरले सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार रुपैया पाए । 

विजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नगर प्रवक्ता शिव राना, आयोजक संघका अध्यक्ष सुजन पुन, बुटवल–४ का अध्यक्ष नरिश्वर पौडेल,  ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने, खेल संयोजक शिशिर गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

हालसम्मकै सर्वाधिक पुरस्कार राशीको  प्रतियोगिताले स्नुकर खेल र  बुटवलको नाम थप उचाइमा पुर्याएको वक्ताहरुले बताएका थिए । प्रतियोगितालाई बुटवल उपमहानगरले मुख्य आर्थिक सहयोग गरेको थियो भने सिंह कम्प्लेक्सका महेशमान सिंह, आवास ग्रुपका महेश थैब, आयोजक संघका पूर्वअध्यक्ष हरि क्षेत्री, बुटवल वडा न १,४, ५, ६, १० लगायत विभिन्न व्यक्ति, संघ–संस्थाले आर्थिक सहयोग गरेका थिए ।