२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला दौड प्रतियोगितामा प्रकृति र कल्पना प्रथम

आइतवार , फाल्गुण २५, २०८१

बुटवल, २५ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण, ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ रुपन्देहीको बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियो मुक्ति बुटवलको आयोजना, कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह–आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, वित्तीय तथा सामाजिक संघ–संस्था तथा विभिन्न क्लबहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

दौड प्रतियोगितामा कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन् । घिमिरेले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै मानवज्ञान माविकै कृति पराजुली २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गरि द्वितीय भइन् । क्षेत्रीले ७ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

kalpana 1st 2 km.jpg

त्यस्तै ज्ञानोदय माविकी इश्वरी वि.क. २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा पाँच किलोमिटर दुरी पार गर्दै तृतीय हुन सफल भइन् । बुढाले नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गरिन् ।

२ किलो मिटर महिला दौड प्रतियोगिता अन्र्तगत बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा २ किलोमिटर दुरी पार गरी प्रथम हुन सफल भइन्  । उनले नगद ५ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माविकी कल्पना पल्ली ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दुरी पार गर्दैै द्वितीय हुन सफल भइन् । उनले नगद रु.४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । 
तिलोत्तमा–९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भइन् । उनले नगद रु. ३ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ५ किलोमिटर दौड प्रतियोगितामा १४ वर्षदेखि २१ वर्षसम्मका र २ किलोमिटर दौड प्रतियोगितामा २१ देखिमाथि उमेर समूहका महिलाहरु सहभागी थिए । 

विजयी प्रतियोगिलाई रेडियोका उपाध्यक्ष, महिला दौड कार्यक्रमका अध्यक्ष कबिता अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग शैलुन बुटवलका सञ्चालक मोहन ठाकुर, उपहार सुज हाउसका सञ्चालक उमा देवकोटा, उत्तम देवकोटा, इनरव्हील डिष्ट्रिक ३५० का चेयर मेन आशा श्रेष्ठ, सफ्टी हाईजिन प्रा.लि.का बजार अधिकृत विश्वास पोखरेल, कृष्णमाया कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सफ्टी हाईजिन प्रा.लि. र उपहार सुज, समृद्धि हेयर ड्रेसिङ्ग, शैलुन बुटवल, पाथवे बुटवल अबोर्ड स्टडी प्रा.लि.ले विजेता ६ जना र सबैभन्दा कम र सबैभन्दा बढी उमेरका खेलमा सहभागी महिलाहरुका लागि बिशेष गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।  

प्रदेश प्रमुख कार्यालयबाट सुरु भएको ५ किलोमिटर दौड मिलनचोक हुँदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । त्यस्तै २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट सुरु भइ ट्राफिक चोक पुगेर र पुनः प्रदेश प्रमुख कार्यालयमा आई समापन भएको थियो । 

कार्यक्रममा बुटवलका विद्यालय, सरकारी तथा गैरसरकारी संघ–संस्था र महिला गरी ४५० जना महिलाको सहभागीता थियो । ५ किलोमिटर दौड प्रतियोगिताको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । 

सो अवसरमा बोल्दै पाण्डेयले खेल क्षेत्रको प्रवद्र्धनका लागि बुटवलले विभिन्न खेल गतिविधि सञ्चालन गरिरहेको बताए । उनले महिलाको खेल क्षेत्रको विकाससँगै आर्थिक, सामाजिक सबलीकरणका लागी नगरले विभिन्न सीपमूलक कार्यक्रम अगाडी सारेको बताए ।

२ किलोमिटर खुल्ला महिला दौडको उद्घाटन गर्दै विशिष्ट अतिथि उपप्रमुख साबित्रा देवी अर्यालले महिलाको आन्दोलनहरुले सफलताको मार्गमा अगाडी बढेको बताइन् । उनले खेलमा पनि महिलालाई लगानी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदान हुने बताइन् ।

आर्थिक सशक्तिकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको उनले बताइन् । महिला दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा सफल महिलाहरुलाई सम्मान गरिने बताइन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रेडियो मुक्तिले आयोजना गरेका कार्यक्रम महिला सशक्तिकरणसँग जोडिएका हुने भएकाले वडाबाट सधै साथ रहयोग रहेको बताए । उनले बुटवलका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन विभिन्न कार्यक्रम गर्न आवश्यक रहेको बताए । 

रेडियोका सचिव सविता निरौलाले महिला खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको बताइन् । निरौलाले महिलाहरुको श्रमको सम्मानका लागि मनाउन सुरु गरिएको यो अभियानलाई सार्थक बनाउन रेडियाले विभिन्न तरिकाले कार्यक्रम आयोजना गर्दै आएको बताइन् । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक इन्द्र बहादुर राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, कार्यक्रम सहआयोजक संस्था कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनिदप सिंह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राविधिक प्रमुख मोहन घले लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गरेकी थिइन् ।

शनिबार ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) ‘महिला र बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी विश्वभर एकैसाथ मनाइएको छ । रेडियो मुक्ति २०६५ सालमा स्थापना भएको महिलाहरु मात्रै आवद्ध भएको सञ्चार संस्था हो । बुटवल–४ मा स्टुडियो रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हुँदै आएको छ ।