२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी र नेपाल पुलिसको लगातार दोस्रो जीत

बुधवार , फाल्गुण २८, २०८१

भैरहवा, २८ फागुन । दुई विभागीय टीम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जीत हात पार्यो । पुलिसले भने कोशी प्रदेशलाई १ सय ५४ रनले पराजित गरेको छ । 

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि पाएको १ सय १८ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा १ सय १९ रन बनाउँदै भेट्टायो र जीत निकाल्यो । उसको जितमा सन्तोष कार्कीले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे । 

बलिङमा सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ४५ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा १ सय १७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न प्लेयर अफ द म्याच समेत रहेका आर्मीका शाहब आलमले कसिलो बलिङ गरेर । उनले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कार्कीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहम्मद र कुशल मल्लले १–१ विकेट लिए । 

सुदूरपश्चिमका निश्चल क्षेत्रीले अविजित ४९, सुनिल चन्द र नारायण जोशीले १६–१६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रतियोगितामा सुदूरपश्चिको यो दोस्रो हार हो ।

यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले कोशीमाथि सहज जीत निकाल्यो । पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनायो । 

पुलिसका लागि लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएका कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै, दीलिप नाथले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । 

ओपनर अर्जुन साउद र रसिद खानले समान ३८–३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्सन झाले २१ रन जोडे । कोशीका लागि भुपाल लुइटेलले ३, प्रकाश कार्कीले २ तथा श्रवण किस्कु, दीपेश कंडेल र फिर्दोश अन्सारीले समान १–१ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १ सय ३४ रन बनाउँदा अलआउट भयो । 

कोशीका लागि सुजन थपलियाले ३३, कप्तान अंकित सुवेदले २१, शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन जोडे । पुलिसका लागि करण केसीले ३, कुशल भुर्तेल र लतित नारायण राजवंशीले समान २–२ तथा सागर ढकाल, गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । कुशल भुर्तेल प्लेयर अफ द म्याच भए । कोशीको यो लगातार तेस्रो हार हो ।