
बिहिवार , फाल्गुण २९, २०८१
तिलोत्तमा, २९ फागुन । रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकेडेमी) का ३ सय जना कराँतेका विद्यार्थी खेलाडीलाई बेल्ट वितरण गरिएको छ । वादेरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष तथा नेपाल कराँते महासंघका केन्द्रिय उपाध्यक्ष हरिशरण केसीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा दिक्षित भएका ३ सय जना खेलाडीहरुलाई बेल्ट वितरण गरिएको हो ।
खेलाडीलाई प्रमुख अतिथि केसीसहित प्रिन्सिपल दिल बहादुर बुढाथोकी, उमेश कंडेल, शिक्षकहरु लगायतले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष केसीले खेल जगतमार्फत स्वास्थ्य र राष्ट्रका लागि योगदान गर्न सकिने बताए । उनले देश–विदेशमा आफ्नो र देशको नाम चम्काउन सकिने बताए । उनले स–साना खेलाडीलाई ग्रासरुट लेभलबाटै माथि उकास्न सके खेलमार्फत पनि ठूलो योगदान गर्न सकिने र त्यसको सम्भावना स्वदेशमै रहेको बताए ।
प्रिन्सिपल बुढाथोकीले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा प्रस्फुटन गर्दै स्वास्थ्य र राष्ट्रका लागि योगदान गर्न सक्ने बनाउन बिद्यालयले यस्तो खालको खेलहरुलाई प्राथमिकता दिदै आएको बताए । उनले शारीरिक मात्रै नभइ मानसिक रुपमा समेत विद्यार्थीको विकास हुनुपर्ने बताउँदै यस्ता खेलले समग्र विकासमा सहयोग पुग्ने बताए ।
अतिरिक्त क्रियाकलापका संयोजक दिनेश चापागाईंले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको अन्तरनीहित प्रतिभा प्रस्फुटन भइ शिक्षा र स्वास्थ्यसँगै मानसिक विकासमा समेत टेवा पुग्ने बताए ।
वादोरियो कराँते लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक तथा विद्यालयका कराँते प्रशिक्षक मुहम्मद अलिले कराँते खेलले विद्यार्थी एवं खेलाडीहरुको अनुशासन, शारीरिक व्यायाम र आत्मरक्षा जस्ता कुराको विकास गरी मार्गनिर्देशन गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij