
बिहिवार , फाल्गुण २९, २०८१
भैरहवा, २९ फागुन । प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका तीन खेलमा लुम्बिनी प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथि १४ रनको जीत निकाल्यो ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा २ सय १७ रन बनायो । जसमा म्यान अफ द म्याच प्रज्वल थापाले ७२ रनको अर्धशतकीय पारी खेले । बलिङमा गण्डकीका अमृत गुरुङले ३ तथा चन्द्र पौडेल र विपिन क्षेत्रीले २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाएर २ सय ३ रन मात्रै बनायो र पराजित भयो । गण्डकीका अर्जुन कुमालले ६२ रन बनाए । लुम्बिनीका मिर्नाल गुरुङले ३ तथा विप्रसन केसीले २ विकेट लिए । लुम्बिनीले ३ खेलमा दुईमा जीत र एकमा हार व्यहोरेको छ । उसको ४ अंक छ ।
रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय २७ रनले हरायो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । आर्मीका लागि ओपनर तृतराज दासले सर्वाधिक ६९ रन जोडे । यस्तै, कप्तान विनोद भण्डारीले ५६, भीम सार्कीले ४०, बसिर अहमदले ३६ तथा सोमपाल कामीले १३ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले ४, दीनेश अधिकारीले ३ तथा सुनिल धमलाले २ विकेट लिए ।
२ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो । कर्णालीका लागि प्रकाश जैशीले नटआउट रहँदै सर्वाधिक ५० रन जोडे । यस्तै, विपिन रावल २३, दिनेश अधिकारी २२ तथा विपिन शाही १२ रनमा आउट भए । आर्मीका लागि शाहब आलमले ३, कुशल मल्ल, सोमपाल कामी र आकाश चन्दले समान २–२ विकेट हात पारे । ३ खेलमा लगातार जितसँगै आर्मीले ६ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा बागमतीलाई तथा दोस्रोमा सुदूरपश्चिमलाई हराएको थियो ।
यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले मधेश प्रदेशमाथि २ विकेटको जीत हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा भेट्टयो । एपिएफको जितमा सुमित महर्जनले सर्वाधिक ३५, ओपनर आसिफ शेखले ३४, लोकेश बमले १८, प्लेयर अफ द म्याच भएका कमल ऐरीले नटआउट २८ रन जोडे । अमरसिंह राउटेला १६ तथा कप्तान रोहितकुमार पौडेल ११ रनमा आउट भए । मधेशका लागि कमल गुप्ताले ४, प्रदीप पासवानले २ तथा हरिशंकर शाह र रुपेश सिंहले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश ४०.४ ओभरमा १ सय ६८ रनको सामान्य योगफलमा समेटिएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ७७ रन जोडे । कप्तान अनिल शाहले १७, मयन यादवले ११ र रुपेश सिंह र प्रदिप पासवानले समान १० रन बनाए ।
एपिएफका लागि कमल ऐरीले ४, कप्तान रोहित पौडेलले र भुवन कार्कीले समान २–२ तथा अभिषेश गौतमले १ विकेट लिए । लगातार दोस्रो जीत निकालेको एपिएफ ४ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफले पहिलो खेलमा बागमतीलाई पराजित गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij