२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मध्यावधि निर्वाचन हुन सक्छ : डा. रामशरण महत

शनिवार , चैत्र ७, २०७७

भैरहवा, ७ चैत । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले अब मध्यावधि निर्वाचन हुन सक्ने बताएका छन् । उनले यही सरकार कायम रहे र अर्को सरकार बने पनि मध्यावधि निर्वाचन हुन सक्ने बताए ।नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बिहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता डा. महतले एक भन्दा धैरै पार्टीको सरकार बन्दा संसद्मा विश्वासको मत प्राप्त नभए निर्वाचन हुन सक्ने बताए । उनले निर्वाचन भए नेपाली कांग्रेसलाई फाइदा हुन सक्छ भन्ने दृष्टिकोण पार्टीभित्र रहेको बताए । 

‘कांग्रेसले आफ्नो संगठन सुधार गर्नुपर्छ, व्यवस्थापनमा सुधार गरेर जानुपर्छ, हरेक क्षेत्रलाई सुधार गरी एकता कायम गर्दै गुट भन्दा माथि उठेर तेरो र मेरो नभनीकन पार्टीलाई सबैभन्दा ठूलो बनाउनुपर्छ र सरकारको नेतृत्व गर्नुपर्छ, ’उनले भने । देशलाई कांग्रेसले नै अगाडी बढाएकोले आगामी निर्वाचनमा पार्टीले सरकारको नेतृत्व लिने गरी अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।
अहिले मुलुकको राजनीति अत्यन्तै दुःखद र अप्ठ्यारो स्थितिमा रहेको उनले बताए । २०७२ सालमा कांग्रेसकै नेतृत्वमा संविधान बनेको र संविधान अनुसार भएको निर्वाचनमा कांग्रेस पछाडी परेको उनको भनाइ छ । राजनीतिक क्रान्ति, पद्दति र जनआन्दोलनको सफल नेतृत्व कांग्रेसको अगुवाईमा भएको र मुलुकमा पार्टीको ठूलो योगदान रहेको उनले दावी गरे ।

‘कम्युनिष्ट पार्टी एक भएर निर्वाचनमा गए र हाम्रा आफ्नै कमीकमजोरीले हामी पछाडी प¥यौं, जसका कारण जनतामा पनि केही भ्रम प¥यो, ’उनले भने ।

संविधानलाई मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेको डा. महतले बताए । उनले कम्युनिष्ट सरकारको गतिविधिले उक्त पार्टी बदनाम भइसकेको र कांग्रेसलाई भोट नदिनेलाई पनि अलिकति पश्चाताप भएको उनले बताए । संविधानको सही कार्यान्वयनमा पार्टीले विश्वास गर्ने भएकोले कांग्रेसले संसद विघटन गर्ने कदमको विरोध गरेको उनले बताए । 

‘न्यायपालिकालाई सरकारबाट ठूलो दबाब थियो, स्वयं प्रधानमन्त्रीले संसद् पुनस्थार्पना भए आन्दोलनमा जाने घोषणा गर्नुभयो, लोकतान्त्रिक व्यवस्थामा न्यायपालिका स्वतन्त्र हुनुपर्छ, कार्यपालिकाको प्रभावमा न्यायपालिकाले निर्णय गर्नुहुँदैन, ’उनले भने ।
पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले वर्तमान सरकारले गलत काम गर्दै गएको बताए । उनले फलानोसंग मिलेर सरकार बनाउने भन्दा पनि विषयगत सहमति हुने पार्टीसंग मिलेर कांग्रेस अगाडी बढ्ने बताए । सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने आवाज रहेको तर सरकारमा रहेको एउटा पार्टीले समर्थन फिर्ता नगरे सरकार नढल्ने बताए । अलगअलग पार्टीको रुपमा रहेकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भए पनि त माओवादीले समर्थन फिर्ता नलिएको उनको भनाइ छ ।  कांग्रेसले सरकारको सन्दर्भमा यही गर्ने हो भनेर निर्णय नगरेको डा. महतले बताए ।

नेकपा भित्रको आन्तरिक संघर्षका कारण मुुलुकमा संकट आएको र मुलुकलाई संकटबाट मुक्त गर्न आवश्यकता रहेकोमा उनले जोड दिए । सरकारले जथाभावी खर्च गरेको उनले आरोप लगाए । प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको अध्यक्षता तथा सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।