२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

स्थानीय युवाद्वारा एकल महिलालाई सम्मान 

शनिवार , चैत्र ७, २०७७


भैरहवा, ७ चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाका स्थानीय एक युवाले आफ्नो निजी खर्चमा एकल महिला एवम साधु सन्तलाई सम्मान गरेका छन् । ओमसतिया–३ का रमेश धवलले आफ्नो वडा अन्र्तगतका सम्पूर्ण एकल महिला एवम साधुसन्तलाई सम्मान गरेका हुन् । 
धवलले वडा नम्बर ३ का १ सय ३१ जना एकल महिला र २० जना स्थानीय साधु सन्तलाई सम्मान गरेका हुन् । उनले एकल महिलालाई साडी र साधुसन्तलाई कपडा समेत प्रदान गरेका थिए । त्यस्तै धवलले उनीहरुको सम्मान स्वरुप भण्डारा समेत आयोजना गरेका थिए । ग्रामीण क्षेत्रमा अझै पनि एकल महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको बताउँदै उनीहरुप्रति समाजको दृष्टीमा परिवर्तन प्रयास गरेको धवलले बताए । 
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहेका उनि यस अघि पनि यस्ता काममा सक्रिय रहेका थिए । 
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले समाजमा पछाडी पारिएका समुदायलाई हेर्न सरकारी निकाय नै हुनुपर्ने धारणा भए पनि रमेश जस्ता युवाले यस्तो धारणालाई परिवर्तन गरेको बताए । उनले स्थानीय युवाहरुले प्रयास गरे मात्र समाजबाट पछाडी पारिएका समुदाय मुलधारमा आउन सक्ने बताए । 
स्थानीय युवा रमेश धवलको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा जिल्ला सदस्य साबिर अलि, अमर सिंह चौधरी, अनरुध प्रसाद खरविन्द लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अम्बिका चौधरीले गरेकी थिइन् ।