२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘स्वर्णकार सुपर सिक्स’ क्रिकेट हुँदै

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । विश्वकर्मा युवा समाज सिद्धार्थनगर, रुपन्देहीले ‘स्वर्णकार सुपर सिक्स’–२०८१ (क्रिकेट प्रतियोगिता) को आयोजना गर्ने भएको छ । समाजले यही चैत ३० गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा उक्त प्रतियोगिता गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

समाजका अध्यक्ष अमित सेन्चुरीले दुई दशकअघि सुरु भएको स्वर्णकार सुपर सिक्स प्रतियोगितालाई पुनः निरन्तरता दिइएको बताए । ‘विगतका वर्षमा यो प्रतियोगिताले निरन्तरता पाउन सकेन’उनले भने–‘पुनः यसलाई सुरुवात गर्दै निरन्तर सञ्चालन गर्ने प्रयास गरेका छौं ।’ 

हालसम्म प्रतियोगितामा सहभागी हुन बुटवलबाट ४, तिलोत्तमाबाट १ र सिद्धार्थनगरबाट ७ वटा टीम दर्ता भइसकेको उनले जानकारी दिए । क्रिकेट खेलमार्फत सुनचाँदी व्यवसायी र अन्य व्यवसायी तथा युवाहरुबीच आपसरी भाइचारा र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको उनको भनाइ छ । ५ ओभरको खेलमा विजेता र उपविजेतालाई ट्रफी, मेडल पुरस्कार उपलब्ध गराइने सेन्चुरीले जानकारी दिए । 

त्यस्तै म्यान अफ द म्याचर, म्यान अफ द सिरिज लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएका छन् । रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले २ दशक अघि थालनी भएको क्रिकेट प्रतियोगितालाई पुनः सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए । ‘यो प्रतियोगितालाई सफल पार्न रुपन्देही क्रिकेट संघ पनि उत्तिकै जिम्मेवार छ, ’उनले भने ।

‘स्वर्णकार सुपर सिक्स’ क्रिकेट प्रतियोगिताका संस्थापक श्याम कुमार सुनारले यस्ता प्रतियोगिताले युवा तथा व्यवसायीमा खेलप्रति रुची जगाउने बताए । उनले खेलाडी उत्पादन गर्न विगतमा सुनचाँदी व्यवसायी संघले पनि योगदान पुर्याएको स्मरण गरे ।

रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसायीहरु स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताए । उनले क्रिकेटमा रुपन्देही अगाडि रहेको र यो खेलको विकासका लागि प्रतियोगिताहरु सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । 

‘स्वर्णकार सुपर सिक्स’ क्रिकेट प्रतियोगिताका संस्थापक संयोजक डम्बर लाल रामदामले भैरहवाको लुम्बिनीरोडमा रहेको विश्वकर्मा मन्दिरको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । 

विश्वकर्मा युवा समाज सिद्धार्थनगरका अध्यक्ष अमित सेन्चुरीको अध्यक्षता, डम्बर लाल रामदामको प्रमुख आतिथ्यता, समाजका संस्थापक उपाध्यक्ष सौरभ रामदामको स्वागत तथा सचिव इसान रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_0035.JPG