
सोमवार , चैत्र १०, २०८१
भैरहवा, ११ चैत । तत्कालीन भैरहवा नगर पन्चायतका पहिलो उप–प्रधान पञ्च स्वर्गीय राम नारायण मल्लिकको स्मृतिमा भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्व. श्री राम नारायण मल्लिक स्मृति सेवा समिति सिद्धार्थनगर, भैरहवाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
‘रक्तदान, जीवनदान’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका–६ कर्णपथ (भैयाटोल) मा आयोजित कार्यक्रममा कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको समितिका सह–सचिव विवेकान्द मल्लिकले बताए ।
भैरहवा नगर पन्चायत (हाल सिद्धार्थनगर नगरपालिका) का प्रथम उप प्रधानपन्च (२०२६–२०२९) को स्मृतिको गठन भएको समितिले २०२६ देखि हालसम्मका सबै उपप्रधानपन्च÷नगर उपप्रमुखहरुको उपस्थितिमा रक्तदान कार्यक्रम गरेको समितिका अध्यक्ष उदय कुमार मल्लिकले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भनिन्–‘पुर्खा नभइकन हामी हुँदैनौ । हाम्रो अस्तित्व हाम्रा पुर्खाहरुका कारण नै छ ।’ सिद्धार्थनगर उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित हुनु नगरप्रमुख र उपप्रमुख मात्र नभइ सिंगो नगरबासी बधाईको पात्र भएको उनले बताइन् ।
‘नगरबासी बधाईको पात्र हुनुहुन्छ, तपाईहरुको साथ र सहयोगले सिद्धार्थनगर नगरपालिका सम्मानित भएको छ, ’उपप्रमुख अधिकारीले भनिन् । स्व. श्री राम नारायण मल्लिक स्मृति सेवा समिति सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रम सराहनीय रहेको उनले बताइन् ।
समितिका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, निवर्तमान नगर उपप्रमुख उमा काफ्ले, पूर्व उप–प्रधानपन्च नारायण सिंह थापा, लोक बहादुर राना (बुँद राना), सिद्धार्थनगर–४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत, नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका निवर्तमान जिल्ला सभापति दिपक क्षेत्री न्यौपाने, चित्रगुप्त युवा सेवा समिति रुपन्देहीका अध्यक्ष रत्नेश कुमार मल्लिक, रक्त संचार सेवा एकाई, सिद्धार्थनगरका ल्याब इन्चार्ज पदम प्रसाद बस्याल, समितिका संरक्षक उदित नारायण मल्लिक, कार्यक्रम संयोजक शैलेन्द्र कुमार मल्लिक लगायतले बोलेका थिए ।
समितिका सचिव धिरज कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij