२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक 

आइतवार , चैत्र ८, २०७७

काठमाडौं, ८ चैत ।

२०७७ चैत २५ गते सम्पन्न हुने नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ । निर्वाचन कार्यक्रम तालिकाअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने महासंघको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

त्यसै गरी मतदाता नामावली उपर दावी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः३० बजेसम्म गर्ने गरी तोकिएको महासंघका महासचिव रमेश बिष्टले बताए । महासचिव बिष्टका अनुसार मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिनेछ । त्यसै गरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेदवारमाथि दावी विरोध चैत १३ गते बिहान १० : ३० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । यसैगरी उम्मेदवारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । 

मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ । महासंघको संशोधित विधान अनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव प्रकाश थापाले बताए । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको पनि थापाले जनाएका छन् ।

त्यसै गरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ ।  ती एकाईको मनोनय दर्ता लगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुँदैछन् ।

प्रत्येक साधारण सदस्यले महासंघको तीनै तहको नेतृत्व चयन गर्न पाउने व्यवस्था नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक मिलाइएको हो ।