
बुधवार , चैत्र १२, २०८१
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताए । एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए । उनले हल्का र उत्ताउलो नहुन बिपक्षी दललाई सुझाव समेत दिएका छन् ।
प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्न चेतावनी दिदै ओलीले बिपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे । त्यस्तै उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पारे ।
एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij