२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

चार अर्बको लगानीमा बोधी होम्स, सुविधासम्पन्न ३०० घरका लागि बुकिङ्ग खुल्ला

आइतवार , चैत्र ८, २०७७

भैरहवा, ८ चैत। बोधि होल्डिङ्ग प्रा.लि.ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरू भएको छ। हाउजिङ, पाँचतारे होटल लगायत बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सामुदायिक आवासको संस्कार बसाल्ने अभियानसहित भैरहवामा हाउजिङ परियोजनाको निर्माण सुरू गरेको हो।

बोधी होल्डिङ्ग प्रा.लि.ले भैरहवामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गराएको जानकारी अनुसार बोधी होम्स दुई चरणमा निर्माण हुनेछ। पहिलो चरणमा १०४ र दोस्रो चरणमा १९६ वटा गरी ३०० वटा घर निर्माण हुने बोधी होम्समा अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए।

परियोजनामा पर्यटन तथा बैंक व्यवसायी पाण्डेसहित प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव, चार्टर एकाउण्टेण्ट (सीए) दीपक पाण्डे, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रविन्द्र कुँवर लगायत अन्य व्यवसायीहरु संलग्न छन्।

IMG_5919.JPG

ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित करिब १४ बिगाहा क्षेत्रफलमा बन्ने बोधी होम्सका घर खरिदका लागि बुकिङ्ग खुल्ला भएको अध्यक्ष पाण्डेले बताए। पहिलो चरणमा बन्ने १०४ वटा घर २ वर्षमा सक्ने र चार बर्षभित्र दोश्रो परियोजना पनि पुरा हुनेछ । बोधी होम्स परियोजना भैरहवाको देवकोटाचोकदेखि १.५ किलोमिटरको दुरीमा भैरहवा–परासी सडकदेखि करिब ३ सय मिटर उत्तर बोधी रेडसन होटलको पश्चिममा रहेको छ।

यो परियोजना लुम्बिनी प्रदेशकै ठूलो आवासीय परियोजना हो। साथै, हाउजिङ परियोजनामा निर्माण हुने घर १३ धुरदेखि १८ धुरसम्मका हुनेछन्। जसमा ३०० घरहरु साढे २ तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना बोधी होल्डिङ्ग प्रा.लि.ले जनाएको छ।

काठमाण्डौंपछि सबैभन्दा बढी सम्भावना बोकेको र आर्थिक हबको रुपमा विकसित भइरहेको शहर भैरहवा भएकाले सो परियोजनालाई यहाँ रोजिएको होल्डिङ्गले जनाएको छ। ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा एक परम्परागत शहर हो, पछिल्लो समय काठमाडौंपछिको आधुनिक रुपमा विकसित हुनका लागि सम्भावित शहर भैरहवा हो। साथै, निकट भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछन्। त्यसैले सम्पूर्ण व्यवसायीले अध्ययन गरेको निर्माण सुरु गरेको हो,’ उनले भने।

निकट भविष्यमा भैरहवाको आर्थिक स्थिति लगायत आधुनिक शहरको रुपमा परिणत हुने योजनाको साथ सुरु भएको उक्त योजनाबाट धेरै लाभान्वित हुने पाण्डेले दावी गरे। निर्माण सुरु भएको हाउजिङ परियोजनामा हाउजिङ परियोजनामा हुनुपर्ने सम्पूर्ण सुविधा हुने पाण्डेले बताए। सम्पूर्ण आधुनिक सुविधासहितका घरसँगै परियोजनाभित्र स्वीमिङ पुल, २४ फिटको चौडा बाटो, हेल्थ क्लव, कार्यक्रम गर्नका लागि कम्युनिटी हल, जीम, बगैंचा हुनेछ। पर्याप्त मात्रामा पार्किङ क्षेत्र, अत्यन्त चुस्त दुरुस्त खालको सुरक्षा, सपिङ सेन्टर लगायत आधुनिक हाउजिङ परियोजनामा हुने सम्पूर्ण सुविधा उपलब्ध गराइने छ।

अहिलेसम्म १५ वटा घरको लागि प्रि–बुकिङ्ग भइसकेको र अब बुकिङ्ग खुल्ला भएको बोधि बिल्डिङ्गका सञ्चालक तथा सांसद प्रमोद कुमार यादवले जानकारी दिए। २०७८ वैशाखभित्र बुकिङ्ग गर्नेलाई ११ देखि १४ धुर जग्गा तथा २ हजार ३ सय ३३ वर्गमिटरको घरको मूल्य १ करोड ६० लाख र १७ धुर जग्गा तथा २ हजार ६ सय ९७ वर्गमिटरको घरको मूल्य १ करोड ९० लाख निर्धारण गरिएको उनले बताए। यो मूल्यमा २०७८ वैशाखपछि १२.५ प्रतिशतले वृद्धि हुने जनाइएको छ । बुकिङ्ग गर्दा मूल्यको १० प्रतिशत भुक्तानी दिनुपर्नेछ। बोधी होल्डिङ्गले घर खरीद गर्ने ग्राहकको सुविधाको लागि मूल्यको ६० प्रतिशत रकम ग्लोबल आईएमई बैंकबाट सबैभन्दा सस्तो ब्याजदरमा २० वर्षे कर्जा उपलब्ध गराउने सम्झौता समेत गरिसकेको छ। यसले घर खरिद गर्ने ग्राहकलाई नपुग रकम कर्जा लिन सहज हुने देखिएको छ।

बोधी होम्स निर्माण पुरा भएपछि भैरहवाको सुन्दरतामा थप आयाम हुने देखिएको छ। पत्रकार सम्मेलनमा बोधी विल्डिङ्गका सञ्चालक दीपक पाण्डे, दिनबन्धु पोखरेल लगायतले पनि बोधी होम्सबारे जानकारी गराएका थिए। पत्रकार सम्मेलनको सञ्चालन पत्रकार मनोरञ्जन शर्माले गरेका थिए।