
शुक्रवार , चैत्र १४, २०८१
बुटवल, १५ चैत । महिला फुटबल खेलाडीका रुपन्देहीको सानका रुपमा रहेकी छन् एकमात्र महिला फुटबल रेफ्री कृति सेन ठकुरी । २७ वर्षिय कृति खेलाडीसँगै मैदानमा कहिले सिट्टी फुक्दै त कहिले साईड ट्रयाकमा झण्डा लिएर दौडिरहेकी हुन्छिन् । किशोरदेखि युवा अवस्थाका खेलाडीसँग कुदिरहने उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पिता गंगाबहादुर तथा आमा हरिकलाको कान्छी सन्तान हुन् ।
रुपन्देहीमा हाल सक्रिय १७ जना फुटबल खेलका रेफ्रीहरुमध्ये कृति एकमात्र महिला हुन् । एन्फा रुपन्देहीका पूर्वअध्यक्ष तथा वर्तमान म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठका अनुसार फुटबलतर्फ कृति रुपन्देहीको पहिलो र एकमात्र महिला रेफ्री हुन् ।
परिवारमा ५ दिदीबहिनी र १ दाजु रहेको बताउने कृतिका अनुसार उनकी दिदीले विवाह अघि खेल खेल्ने गरेको र दिदीको प्रेरणाबाट खेल क्षेत्रमा रुची बढेको बताउँछिन् । खास गरी फुटबल खेलका गुरु हेमन्त श्रेष्ठले गर्दा आफू खेल क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । सुरुवातमा विभिन्न खेलहरु खेल्ने गरेको भए पनि पछिल्लो समय फुटबल खेललाई नै प्राथमिकता दिएर रेफ्री बनेको उनी बताउँछिन्।
कृति भन्छिन्–‘मलाई सानैदेखि खेलकुदप्रति रुची थियो, पछि फुटबलप्रति रुची बढेर गयो अनि रेफ्री बन्ने रहर जाग्यो ।’ सानैमा १२/१३ वर्षको उमेरदेखि नै फुटबल खेल्दै आएकी उनी ७ वर्ष अघिदेखि रेफ्रीको भूमिकामा रहेर खेल खेलाउँदै आएकी छन् ।
विभिन्न चरणको रेफ्री कोर्ष पूरा गरेर उनी फेरी पनि नेशनल रेफ्रीको क्याटगोरी–२ मा परेकी छिन् । उनी थप्छिन्–‘हरेक वर्ष दौड, फिटनेश तथा कोर्ष पास गर्नुपर्ने हुन्छ लाइसेन्सका लागि ।’ सानैदेखिको खेलप्रतिको रुचीका कारण खेल क्षेत्रलाई आफ्नो पेशाको रुपमा अपनाएको बताउने कृतिले खेललाई यो रहर मात्रै होइन करिअरकै रुपमा अघि बढाउँने बताउँछिन् ।
कृतिले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्ने सपना बोकेकी छिन् । कृतिका अनुसार नेपालमा महिला रेफ्रीहरु उत्पादन एकदमै कम भएको महसुस गरे पनि रुपन्देहीमा त झन उत्पादन नै छैन भन्दा पनि हुन्छ । उनले भनिन्–‘विगत ७ वर्षयता एउटा पनि नयाँ महिला रेफ्री उत्पादन भएको छैन । यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउने तथा खेलकै माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछु र धेरै मिहिनेत गरेर अघि बढ्नेछु ।’ महिला रेफ्री उत्पादन गर्नका लागि सरकारी निकाय तथा फुटबल संघ लगायतका सरोकारवालाहरुले चासो लिनुपर्ने उल्लेख गर्दै कृतिले महिला खेलाडीहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।
फुटबल प्रशिक्षक तथा सिनियर रेफ्री विष्णु पौडेलले पेशागत सुरक्षाको अभाव, व्यवसायिक खेलाडी तथा प्रशिक्षक र रेफ्रीहरुको विकास र संरक्षणका लागि कुनै खास कार्यक्रम र ठोस योजना नरहेकोले विदेश पलायन बढ्दो छ । यहाँ बसेर खेलेर वा प्रशिक्षक बनेर जीविकोपार्जन हुन्छ भन्ने कुराको ग्यारेण्टी नहुँदा युवाहरु विदेश पलायन भइरहेका छन् । अझ महिला खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको हकमा त घरपरिवार र समाजको कुरा लगायत विभिन्न बाधक तत्वहरु छन् । रेफ्री र प्रशिक्षकको अभावमा पुरुषले महिलालाई सिकाउनुपरिरहेको छ, जुन कहिलेकाहीं असहज पनि हुन्छ ।
पूर्वखेलाडी समेत रहेका विष्णु भन्छन्—‘हाम्रो समाजमा विभिन्न संस्कार संस्कृतिहरु पनि छन, सोच विचारहरु पनि छन्, आखिर के पाउँछौ खेलेर ? के पाउँछौ रेफ्री बनेर ? भोली बिहे भएपछि घरधन्दा नगरी सुख छैन जस्ता थुप्रै कुराहरुले गर्दा यस क्षेत्रमा महिलाहरुको आकर्षण कम भएको हो । तर, उचित अवसर र सम्मान पाउने हो भने महिलाहरुको उपस्थिति बढ्ने निश्चित छ । अवसर र हौसला पाएमा महिलाहरुले पनि उत्साहका साथ केही गर्न सक्छन् भन्ने सोचको विकास आजको आवश्यकता हो भन्ने कुरामा अधिकांश खेलाडी र रेफ्रीहरु सहमत छन् ।
म्याच कमिश्नर श्रेष्ठका अनुसार यो समय खेलकुदका लागि र रेफ्रीका लागि निकै व्यस्त समय हो, रुपन्देही लगायत विभिन्न जिल्लामा एकैपटक दर्जनौ प्रतियोगिताहरु भइरहेका छन् । श्रेष्ठ भन्छन्—‘समग्रमा यो सिजनमा रेफ्रीहरुको अभाव हुन्छ नै, तर पनि मुस्किलले व्यवस्थापन गरेका छौं, अझ महिला रेफ्री त पाउनै गाह्रो हुन्छ । अब हामी छिट्टै रेफ्री तालिम गराउने सोचमा छौं, यसमा महिला सहभागीता बढाउने प्रयास पनि गर्नेछौं ।’ महिला खेलाडीको भावना र मनोविज्ञान बुझ्न महिला रेफ्री नै भएमा उत्तम हुने श्रेष्ठको धारणा छ ।
यद्यपी विगतमा यस क्षेत्रबाट महिला रेफ्रीहरु उत्पादन नभएका होइनन् । तर, हरिप्रसाद श्रेष्ठ र विष्णु पौडेलले माथि भने जस्तै परिस्थिति र पेशागत सुरक्षाका कारण उनीहरु विस्तारै पलायन भए । श्रेष्ठका अनुसार यस क्षेत्रबाट विगतमा भगवती थापा, मधु थापा, किरण बज्राचार्य लगायतले राष्ट्रिय खेलाडी र रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । तर, अब नयाँ सोंचका साथ नयाँ रेफ्री उत्पादन गरी फुटबलको विकासलाई टेवा प्रदान गर्न आवश्यक देखिएको उनीहरुको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij