
आइतवार , चैत्र ८, २०७७
बुटवल, ८ चैत ।
पहाडी क्षेत्र पाल्पाको रामपुरमा रोटरी क्लब स्थापना भएको छ । पहाडी क्षेत्रमा पहिलो पटक रोटरी क्लब अफ रामपुरको स्थापना भएको हो । रोटरी क्लब अफ रामपुरको चार्टड सेरेमनीसंगै रोटरी क्लब बुटवलको १३५६ औं नियमित बैठक पनि पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्यसहित पहाडी क्षेत्रमा रोटरीको जन्म हुनु खुशीको कुरा भएको बताए ।
रोटरीले सामाजिक क्षेत्रमा छुट्टै प्रतिष्ठा र पहिचान कायम गर्न सफल भएको भन्दै उनले स्वार्थ भन्दा माथि उठेर सेवाको भावना अनुसार अघि बढे पहाडी क्षेत्रमा समेत रोटरीप्रतिको आकर्षण अझै बढ्दै जाने बताए । नेपालमा १९५९ मा ३० जनाबाट सुरु भएको रोटरी क्लव अहिले १ सय ४४ वटा क्लव भएको जानकारी पनि दिए ।
कार्यक्रममा रोटरी क्लब अफ रामपुरका ७० सदस्यहरुलाई सपथग्रहण गराउँदै क्लबका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनालले रोटरीले गरिरहेका रचनात्मक कामले क्लबप्रतिको विश्वास बढ्दै गएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले क्लबले बुटवल क्षेत्रमा चार वटा प्रोजेक्ट अगाडि सारेर काम अगाडि बढाएको जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिंग सेन्टर, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा ई–लर्निंग एण्ड साइन्स थिएटर र ब्लड कलेक्शन मोबाइल भ्यान गरी चार वटा प्रोजेक्टको काम अगाडि बढेको उनले बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रोटरी क्लब अफ बुटवलका एजि खिमानन्द भुसाल, रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष एवं क्लब मेन्टर कृष्णप्रसाद अर्याल, रोटरी क्लव बुटवलका सचिव रोम शर्मा, रामपुरका सचिव सूर्यप्रसाद घिमिरे लगायतले रोटरीका सन्दर्भमा जानकारी सहित आ–आफ्ना धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij