
आइतवार , चैत्र ८, २०७७
भैरहवा, ८ चैत ।
श्री कालीमाता मन्दिर संरक्षण समिति सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवाको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । जीर्ण अवस्थामा रहेको मन्दिरमा करिब २५ लाखको लागतमा संरचना पुर्ननिर्माण गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष शिवशंकर गुप्ताले जानकारी दिए ।
अध्यक्ष गुप्ताको अध्यक्षता तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वडाअध्यक्ष दिपक कुमार थापा, मायादेवी च्यारिटेबल फाउण्डेशनका संस्थापक अध्यक्ष रवि कुमार रौनियार लगायतले बोल्दै धर्मले सामाजिक भावनामा सकारात्मक उर्जा दिने बताए । उनीहरुले जुनसुकै धार्मिक स्थल, मठ मन्दिरको संरक्षण गर्ने र यी स्थललाई पर्यटनसंग जोड्न सके नगरको समेत विकास हुने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खानले सिद्धार्थनगरभित्रका सबै धार्मिक स्थलको संरक्षणमा आफुले सहयोग गर्ने बताए । सो अवसरमा मन्दिरलाई आर्थिक सहयोग गर्ने करीब २ सय जनालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा पूर्व वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, कान्दू वैश्य सेवा समिति रुपन्देहीका अध्यक्ष श्रीराम गुप्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । समितिका सह–कोषाध्यक्ष विजय यादवको स्वागत तथा पत्रकार सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij