
बुधवार , चैत्र १९, २०८१
भैरहवा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन नमिल्ने बताएका छन् । बुधबार काठमाडौंमा रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।
संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार विर्सन नमिल्ने राष्ट्रपति पौडेलको भनाई छ । उनले संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको धारणा राखे ।
राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे । उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद भएको बताए ।
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले पुराएको योगदानको चर्चा गरे ।
राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रपति पौडेलले बरिष्ठ संगितकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहोशी, मोहनप्रसाद जोशीलाई सम्मान गरेका थिए । साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टा सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij