
आइतवार , चैत्र ८, २०७७
बुटवल, ८ चैत । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्च देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही क्रममा बुटवलमा विभेद कहिलेसम्म ? विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशिल सहयात्री समाज बुटवलद्वारा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय विभेदको जड दण्डहीनता भएको बताएका छन् । दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौँ मानव अधिकार रक्षा गरौ जस्ता उनीहरुको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले स्थानीय तहहरुलाई जवाफदेही बनाउन प्रभावकारी तवरले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक न्यायको प्रत्याभुतिका लागि शान्ति समाजले स्थापना कालदेखि नै दलित अधिकार मानव अधिकार भन्दै अभियानरत रहेको चर्चा गरेका थिए ।
संविधानसभा सदस्य, जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेशसभा सदस्य दिपा विश्वकर्मा, राजनीतिकर्मीहरु गंगा शाही, देवी वाग्ले, पत्रकार निरु गौतम, अभियन्ताहरु हरिओम विक, सरस्वती परियार, सीता रोकाया, लोकबहादुर नेपाली, नरबहादुर सुनार, डिपी खनाल लगायत वक्ताहरुले जातीय विभेद र दण्डहीनताकोविरुद्ध केन्द्रित रही अधिकारलाई कागजमा होइन व्यवहारमा लागू गरौं भन्ने धारणा राखेका थिए ।
त्यस्तै मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले जातीय विभेदको जड दण्डहीनता भएकोले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप चैत ८ गते काठमाण्डौ बौद्धमा प्रदर्शन गरेको छ ।
दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौँ मानव अधिकार रक्षा गरौ लगायतका प्लेकार्डसहित गरिएको प्रदर्शनमा प्रदेशसभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल, कुमारराज सुवेदी, नानीकाजी गिरी र ईश्वर पुडासैनी लगाएतले बोलेका थिए ।
त्यसै गरी जातीय विभेद उन्मुलन दिवसकै सन्दर्भमा चैत ८ गते मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा सबै मिली जातीय छुवाछूत अन्त्य गरौ भन्ने विषयमा केन्द्रीत रही आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गरेका थिए ।
शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली जनप्रतिनिधि युवा करारा, राजनीतिकर्मीहरु जोगेन्द्र विश्वकर्मा, सर्जन परियार, राधिका परियार, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, समाजसेवीहरु विमल रिजाल, टोपबहादुर घर्ती, अधिकारकर्मीहरु सुष्मा गिरी, देवा डाँगी, पत्रकार गोपाल भट्टराई लगायतले बोलेका थिए ।
सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij