
शुक्रवार , चैत्र २१, २०८१
बुटवल, २२ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ सेमलार, मोतीगंजका किसानहरु परम्परागत र निर्वाहमुखी खेती प्रणाली छाड्दै, आधुनिक र व्यवसायिक खेती प्रणाली अपनाउन थालेका छन् । बुटवल उपमहानगरको प्राविधिक सहयोगमा खास गरी मकै खेती व्यवसायिक रुपमा उत्पादन गर्न थालेपछि उनीहरुले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
मोतीगंजका अगुवा कृषक मुक्ति प्रसाद गैरेका अनुसार पछिल्लो समय सेमलार र मोतीपुरका ४१ जना किसानले ३० हेक्टर जग्गामा सामूहिक मकै खेती गरेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा विशेष पकेट क्षेत्र बनाएर व्यवसायिक उत्पादन गर्ने उद्देश्यसहित मकै खेती सुरु गरेका किसानले पहिलेको तुलनामा ३ गुणासम्म उत्पादन वृद्धि हुनुका साथै वार्षिक लाखौं रुपैयाँ आर्जन गर्न सफल भएको बताएका छन् । प्रविधि र ज्ञान उपलब्ध भएका कारण पहिलेको तुलनामा उत्पादन वृद्धि भएको उनीहरुको भनाइ छ ।
उत्पादनलाई बजारसम्म पुर्याउन कठिनाई हुँदा बिचौलियाहरुले चलखेल गरेकोले किसानहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । आफैले गरेको उत्पादन बजारसम्म पुर्याएर विक्रीवितरण गर्ने गरेको र यसबाट मकैको मूल्य अपेक्षा गरे बमोजिमको पाउने गरेको किसानहरु बताउँछन् । तर, बजारसम्म पुर्याउन ढुवानीको साधनको अभाव भएकोले कृषकहरुको हितलाई ध्यानमा राखेर सरकारले बजारीकरणमा समेत सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
जमिनको उत्पादकत्व वृद्धि गरी किसानहरुको आम्दानी समेत बढाउने उद्देश्यले मकै विकास कार्यक्रम सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । ३ वर्षअघि एउटा कृषक समूह गठन गरी मकै पकेट क्षेत्र घोषणा गरेर योजना सञ्चालन गरिएको कृषि प्राविधिक सोमन प्रसाद कुर्मीले बताए। समूहमा पहिलो वर्ष २० जना मात्र कृषकहरु सहभागी भएकोमा दोस्रो वर्ष ३० जना र तेस्रो बर्ष ४१ जना पुगेको उल्लेख गर्दै उनले उत्पादन बढेसँगै व्यवसायिक मकै खेतीतर्फ अन्य कृषकहरु पनि आकर्षित भएको जानकारी दिए ।
किसानहरुलाई बिउ, मल र तालिम प्रदान गर्दै आएको बुटवल उपमहानगरपालिकाले उत्पादनलाई बजारसम्म पुर्याउन थप सहयोग गर्नुपर्ने स्थानीयको माग छ । किसानहरुको परम्परागत र निर्वाहमुखी खेती प्रणालीमा सुधार ल्याई व्यवसायिक मकै खेतीतर्फ आकर्षित गरी उत्पादकत्व र आम्दानी दुवै वृद्धि गर्न यो कार्यक्रम सफल हुने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij