२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कुलमान घिसिङ भन्छन्, मैले अहिलेसम्म हारेको छैन्, जनतासंग सधै सहकार्यमा हुन्छु

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आफु सधै जनताको साथमा रहने बताएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका घिसिङले जनताको घरमा बिजुली पुर्‍याउनु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको बताउदै सधै जनताको साथमा रहने बताए । एक जिम्मेवार नागरिकका रूपमा आफ्नो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुन दिने छैन्, घिसिङले भने मैले हार्न जानेको छैन्, अब पनि तपाइहरुकै साथमा रहने छु । 

आफूलाई बर्खास्त गर्नुलाई उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही र अपमानित बनाउने कार्यका रूपमा टिप्पणी गरे । “नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,” उनले भने, “तर, नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।”

सरकारले बजेट नै नदिएको अवस्थामा समेत प्राधिकरणले आफ्नै स्रोतसाधनबाट विद्युतीकरणको काम गरिरहेको उनले बताए । आफ्नो कार्यकाल र भूमिकाप्रति असन्तोष हुनुपर्ने कुनै कारण नरहेको उनले सुनाए ।

“गाउँबस्तीको विद्युतीकरण मात्र हैन, स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ,” उनले भने, “जनतालाई उज्यालो दिनु नै राष्ट्रहितविपरीतको अपराध हो ? यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ ।”

बर्खास्त गरिएको दिन पनि आफू चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने कार्यमा तल्लीन रहेको उनले बताए । “मलाई हटाउन २०८१ चैत ११ गते मन्त्रिपरिषद् बैठकको तयारी भइहरेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत, विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने काममा खटिएको थिएँ,” उनले भने ।

सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्दा सरकारले आफूलाई अपराधी बनाएको उनले आरोप लगाए । वर्तमान सरकारले प्राधिकरणलाई धराशायी बनाउन खोजेको उनको भनाइ थियो ।

उनले बक्यौता नउठाउन मन्त्री र प्रधानमन्त्रीबाटै फकाउने र गलाउने प्रयास भइरहेको आरोप लगाए । संस्था र मुलुकप्रति आफू सधै प्रतिबद्ध रहेको उनले दाेहोराएका छन् ।