
शनिवार , चैत्र २२, २०८१
तिलोत्तमा, २३ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने मेसिन), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटर लगायतका कृषि औजार वितरण गरिएको छ ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यसहित परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रीकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिका कार्यालयको ५० प्रतिशत अनुदानमा करिब ५ लाखको कृषि औजार वितरण गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए ।
औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिइएको नगरप्रमुख रामकृष्ण खाणले बताए । उनले किसानलाई कृषि कार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने बताए । किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग पनि गर्ने उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिका–६ का वडाअध्यक्ष गणेश पाठकले कृषि गर्ने कृषकको माग र प्रस्तावका आधरमा औजार वितरण गरिएकोल बताए । यसमा अन्य औजार नपाउने कृषकले आगामी दिनमा प्रस्ताव गरे पाउने र पाएकाहरुले औजारको सदुपयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा वडा नम्बर ६, ८, १४, १५ र १७ का करिब २२ जना कृषकलाई औजार हस्तन्तरण गरिएको थियो । कृषकको तर्फबाट बोल्दै उनीहरुले औजार किन्न र सामूहिक रुपमा खेती गर्न असहज भएकोले नगरपालिकाले दिएको अनुदानमार्फत किनेको औजारले कृषकको मुहारमा खुसी ल्याएको र औजारको सही सदुपयोग गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij