
आइतवार , चैत्र २३, २०८१
भैरहवा, २४ चैत । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आइतबारदेखि मुक्तिनाथ महायज्ञ सुरु भएको छ । रामनवमीको अवसरमा आइतबारदेखि सुरु भएको ६ महिना (बडादशैंसम्म) महायज्ञ सञ्चालन हुने श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणी, नवलपरासीका कोषाध्यक्ष मंगल भण्डारीले बताए । भण्डारीका अनुसार धार्मिक सद्भाव र पर्यटन क्षेत्रको विकासका लागि ६ महिनासम्म महायज्ञ सञ्चालन हुनेछ ।
स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीबाट प्रस्थान गरेको श्री गजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा टोली शुक्रबार जोमसोमस्थित गणेश मन्दिर पुगेको थियो । शनिबार अखण्ड किर्तन भएको र आइतबार महायज्ञ सुरु भएको हो । रथयात्रा त्रिवेणीबाट सुरु भइ गैडाकोट, देवघाटधाम, पोखराको रामघाट, बाग्लुङको पञ्चकोट, बेनीकोटको गलेश्वर धाम, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ मन्दिर पुगेको भण्डारीले जानकारी दिए । रथयात्रामा स्वामी कमलनयनाचार्यसहित दुई सय बढी भक्तजनको सहभागीता थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैत १८ गते गजेन्द्र मोक्ष दिव्यधामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको कार्यक्रम संयोजक मंगल भण्डारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij