२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पाल्पा पालुङ्गमैनादी-रुपन्देही समाजद्वारा क्यालेण्डर विमोचन तथा शुभकामना

सोमवार , चैत्र २४, २०८१

बुटवल, २५ चैत । पाल्पा पालुङ्गमैनादी-रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन, चैतेदशै तथा नयाँ वर्षको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष पदम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले नयाँ वर्षको भित्तेपात्रो विमोचन गर्दै सम्पर्क समाजलाई एउटा माध्यम बनाएर जन्मथलोलाई स्मरण बनाउन खोजेको बताए । उनले आफ्नो जन्मस्थल, परिवेश र भूगोल सबैको लागि प्यारो हुने बताउँदै गाउँको विकासका लागि  योजना कार्यक्रम पारेर मात्रै नभइ त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नेपालले पाल्पा गौरवशाली जिल्ला भएकोले पालुङ्गमैनादीको विकासका लागि कहाँबाट कस्तो प्रकारको सहयोग गर्न सकिन्छ ? त्यसका लागि आफूले सक्दो पहल गर्ने बताए ।

समाजका संस्थापक अध्यक्ष अशोक कुँवरले सम्पर्क समाजको निर्माणले सदस्यहरुबीच आपसी सम्बन्ध विस्तार र दुःखसुखमा साथ र सहयोग पुग्ने बताए । कुँवरले पाल्पाबाट विभिन्न पेशा तथा व्यवसाय गर्न बुटवल झरेका पाल्पा पालुङ्गमैनादीका व्यक्तिहरुलाई गोलबद्ध गराउन २०७४ सालमा समाजको स्थापना गरिएको बताए ।  

समाजका सल्लाहकार रामकुमार रणपालले सम्पर्क समाजले गरेका हरेक कार्यहरु अत्यन्तै रचनात्मक भएको बताए । सल्लाहकार तथा पाल्पाली समाज नेपालका उपाध्यक्ष रण बहादुर कुँवरले बोल्दै सम्पर्क समाजको विकासका लागि सबैको साथ र योगदान आवश्यक भएको बताए ।

सल्लाहकार डा. माधव थापाले सामाजिक सहकार्य र समस्याहरुको साझा समस्या तथा निकासका लागि सम्पर्क समाज आवश्यक भएको बताए ।

सल्लाहकार मदन आचार्य, रिब्दीकोट गाउँपालिका बतासे महिला समुहका अध्यक्ष विमला कुँवर, पाल्पा ठिमुरे रुपन्देही सम्पर्क समाजका अध्यक्ष समुन्द्र जिसी, पाल्पा फेक रुपन्देही सम्पर्क समाजका अध्यक्ष हरि कार्की लगायतले बोल्दै सम्पर्क समाजले पछिल्लो समय विभिन्न गतिविधि गर्दै अगाडि बढेको बताउँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष पदम नेपालले सबैको साथ र सहयोगले गर्दा विभिन्न कार्यक्रम गर्दै सम्पर्क समाज अगाडि बढेको बताउँदै क्यालेण्डर प्रकाशनका लागि सहयोगीदाताहरुप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी लोक बहादुर कुँवर, ज्येष्ठ नागरिकहरु राम बहादुर कुँवर, रघुनाथ नेपाल, रामकुमार नेपाल र खेम बहादुर कुँवर लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा युवा कृषि उद्यमी जनक प्रसाद आचार्य, सम्पर्क समाजका सल्लाहकार कमल नेपाल, विष्णु प्रसाद आचार्य लगायतको आतिथ्यता रहेको थियो । 

समाजका  वरिष्ठ उपाध्यक्ष मिन प्रसाद नेपाल (विमल) को स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर वि.क.ले गरेका थिए । समाजले तीज मिलन, होली मिलन लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ ।