२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टीम विजयी

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड भने पहिलोपटक आयोजना भएको हो ।

सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको हो । सोमबार सिद्धार्थ क्रिकेट मैदान, भैरहवामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टीम ५ विकेटले विजयी भएको छ । जीतका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टीमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जीत निकाल्यो । उसको जीतमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् । बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टीमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । उक्त टिमका लागि निरा राजउपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३–१३ रन बनाए । बलिङमा सन् २००९ को टीमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले १–१ विकेट लिए । 

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सह–आयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्व क्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।