२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नागरिकको जिउज्यान तथा सम्पत्तिको सुरक्षा गर्न सरकारसँग नेकपा एसको माग

सोमवार , चैत्र २४, २०८१

भैरहवा, २५ चैत । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी, रुपन्देहीले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाएको छ । गत चैत १५ गते नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी समेत चार राजनीतिक दल आबद्ध समाजवादी मोर्चा, नेपालद्वारा काठामाडांैको भृकुटीमण्डपमा प्रदर्शन भएको थियो ।

गणतन्त्र, सुशासन र समाजवादको पक्षमा लाखौं जनता सडकमा उत्रिरहेका बेला राजावादीहरुले हिंसात्मक गतिविधि गर्दा राज्य चुप लागेर बसेको भन्दै सच्चिन माग गर्दै ज्ञापनपत्र बुुझाएको नेकपा (एस) रुपन्देही जिल्ल अध्यक्ष हिराध्वज शाहले बताए ।

‘समाजवादी मोर्चाको कार्यक्रमलाई असफल पार्ने कुत्सित मनसायले कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनाबद्ध रुपमा कार्यक्रम जुधाई तीनकुने, काठमाडौंमा उदण्ड, विध्वंसात्मक, अराजक तथा आततायी घटना घटाए’, ज्ञापनपत्रमा भनिएको छ, ‘गणतन्त्र स्थापनाका लागि हाम्रो पार्टीले खेलेको भूमिकाबाट विचलित रहँदै आएका तत्वहरुले आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयलाई केन्द्रित गरी योजनाबद्ध आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरे । यो भत्र्सनायोग्य छ ।’

उक्त दिन त्यो अराजक भिडले तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा जनताको निजी घरसम्पत्ति, पसल, सुपरमार्केट, कार्यस्थल, राष्ट्रिय औद्योगिक प्रतिष्ठान (जडिबुटी औषधि प्रशोधन केन्द्र), सञ्चार माध्यमका कार्यालय, सवारीसाधन, निजी तथा सरकारी यातायातका साधनहरू तोडफोड गर्ने तथा जलाउने, लुटपाट मच्चाउने, पत्रकारलाई ज्यूँदै जलाउने जस्ता रक्तपात पूर्ण एवं हिंसात्मक कार्य समेत गरेकाले आपराधिक घटनामा संलग्न व्यक्तिहरू र तिनका मतियारहरूलाई कानूनबमोजिम कडाभन्दा कडा सजाय गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

आन्दोलनमा घाइतेहरूको निःशुल्क उपचार गर्न, उक्त घटनामा ज्यूँदै जलाइएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न, क्षति भएका सम्पत्तिको क्षति पूर्ति गर्न, हिंसा र अराजक गतिविधिहरूलाई नियन्त्रण गर्न, नेपालको संविधानको संरक्षण र नागरिकको जिउज्यान तथा सम्पत्तिको सुरक्षा गर्न सचिव टंक पोखरेलले माग गरे । 

सोमबार पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रिय सदस्यहरु उमा काफ्ले, बाबुलाल यादव, नेता अविराम विक लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।