
मंगलवार , चैत्र २५, २०८१
भैरहवा, २६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०८२ वैशाख ३ गते रुपन्देहीको भैरहवा आउने भएका छन् । पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत प्रचण्ड ३ गते भैरहवा आउने भएका हुन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा नेता तीर बहादुर रोकाया (डार्बिन) का अनुसार वैशाख ३ गते बिहान प्रचण्ड पश्चिम नवलपरासी आउने कार्यक्रम छ । सोही दिन उनी साँझ भैरहवा बस्ने, वैशाख ४ गते बिहान मर्निङवाक गर्ने र मर्निङवाकपश्चात भैरहवामा युवा, बुद्धिजीवि, उद्योगी,-व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।
त्यस्तै वैशाख ४ गते दिउँसो रुपन्देहीको मर्चवारमा हुने आमसभालाई प्रचण्डले सम्बोधन गर्नेछन् । आमसभामा पार्टीका पदाधिकारीहरुको पनि उपस्थिति रहनेछ ।
हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको कार्ययोजना सम्बन्धि महत्वपूर्ण निर्णयहरु भएको नेता रोकायाले बताए । सोमबार रुपन्देहीमा रहेका नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका नेताहरुको उपस्थितिमा भएको बैठकले अभियानलाई सफल बनाउने निर्णय गरेको हो ।
पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज सोनिया यादवको अध्यक्षता, केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वकृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij