२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शुक्रबार बुटवलमा एमालेको जनसभा : ५० हजार जनता उतार्ने दावी

मंगलवार , चैत्र २५, २०८१

बुटवल, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही चैत २९ गते शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गर्न लागेको जनसभामा ५० हजार जनता उतार्ने भएको छ । एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले नागरिकमा नकारात्मक भ्रम फैलाएर स्वार्थको रोटी सेक्ने कोशिष भइरहेको भन्दै यसलाई चिर्न र पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधि हुन थालेको भन्दै त्यसकाविरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए ।

‘सरकारले थुप्रै राम्रा कामहरु गर्दा पनि केही भएन भनेर भाष्य स्थापित गर्न खोजिएको र सामाजिक सञ्जालमा दलहरुप्रति नै वितृष्णा फैलाउने गरी सुनियोजित प्रचार भइरहेको भन्दै यसलाई चिर्न पनि जनसभा आयोजना गरिएको हो।’–उनले भने ।अध्यक्ष गैरेले भने–‘चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलत ः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।’ उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । उनले भने,–‘त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौं ।’

एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जनसभामा केन्द्रित गरिएको जानकारी दिए । ‘जनता एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन् । २९ गतेको जनसभाले पनि यसको सन्देश दिनेछ’–उनले भने । उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए ।  उनले भने–लोकतन्त्र, विधिको शासन र कानुनी राज्यको पक्षमा नेकपा (एमाले) दृढतापूर्वक उभिन्छ । कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो ।’

मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्बलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको उनले बताए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको दावी छ ।

एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए । ‘एमालेले लिएको नीति, कार्यक्रम र योजना राम्रा हुँदाहुँदै पनि नागरिकमा योजनाबद्ध भ्रम फैलाएर पार्टीलाई कमजोर पार्न सकिन्छ कि भनेर केही स्वार्थ समूह लागेका छन्, यसविरुद्ध पनि जनसभाले सन्देश दिने छ’–उनले भने । 

एमाले रुपन्देहीका सचिव चित्र बहादुर कार्कीका अनुसार बुटवल मण्डपमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । जनसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि उनले बताए ।

जरा अभियानमार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । जनसभाको आवश्यक तयारी तथा जनपरिचालनका लागि एमाले रुपन्देहीले जिल्ला सचिव चित्र बहादुर कार्कीको संयोजकत्वमा जनपरिचालन कमिटी बनाएको छ ।