
मंगलवार , चैत्र २५, २०८१
भैरहवा, २६ चैत । पूर्व महिला क्रिकेट खेलाडीहरुबीच रुपन्देहीको भैरहवामा सम्पन्न ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सन् २००९ को टीमले हात पारेको छ । मुलुकमै पहिलोपटक महिला लेजेण्डबीच भैरहवामा दुईदिवसीय प्रतिष्पर्धा भएको थियो । जसमा दुवै खेल जित्दै सन् २००९ को टीमले सिरिज आफ्नो पक्षमा पारेको हो । मंगलबार सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न सिरिजमा सन् २००९ को लेजेण्ड महिला टीमले सन् २००७ को टीमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारिता २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनायो । जसमा करुण भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०–१० रन बनाए । बलिङमा सन् २००७ का नेरी थापा मगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारिन् ।
जवाफमा सन् २००७ को टीम ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि निरा राजउपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले २–२, तथा रितु कनौजिया र करुणा भण्डारीले समान १–१ विकेट लिए ।
प्रतियोगितामा सन् २००८ की करणा भण्डारीलाई बेष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै, सहभागी सबै खेलाडीहरुलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सह–आयोजनामा सिरिज भएको हो ।
सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको थियो । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड क्रिकेट भने पहिलोपटक गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij