२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ वैशाख ३ गते रुपन्देही प्रवेश गर्ने

बुधवार , चैत्र २६, २०८१

बुटवल, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा संचालित हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेश जागरण अभियान आगामी वैशाख ३ गते रुपन्देही प्रवेश गर्ने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियानको केन्द्रिय टोलीलाई रोहिणी गाउँपालिकास्थित धकधई चोकमा स्वागत गरिने माओवादी केन्द्रले जनाएको छ ।

‘२०८२ वैशाख ३ गते साँझ केन्द्रिय अभियान रुपन्देही प्रवेश गर्नेछ ।’ पार्टीका जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ले भने–‘वैशाख ४ गते साँझसम्म पार्टी अध्यक्षसहितको टीम रुपन्देहीमा रहनेछ ।’ अभियान अन्तरगत रुपन्देहीमा जनभेटघाट, कार्यकर्ता प्रशिक्षण, अन्तरक्रिया र जनसभा लगायतका कार्यक्रम हुनेछन् ।

पार्टी जिल्ला सचिव सन्त कुमार यादवका अनुसार वैशाख ३ गते साँझ  रोहीणीमा स्वागत, ४ गते बिहान ५ः३० देखि ८ः३० सम्म मर्निङ्गवाक र चियापान, बिहान ९ देखि १० बजेसम्म विद्यार्थी र वाइसियललाई प्रशिक्षण, १० देखि ११ः३० बजेसम्म व्यवसायी, बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया र बेलुका ४ बजे कोटहीमाईको मझगावामा जनसभा गरी ५ बजे अभियान कपिलवस्तु जिल्लालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
कञ्चनपुरमा पुगेर समापन हुने हुलाकी मार्ग अभियानले पार्टीलाई जनतासँग एकाकार बनाउँदै २०६४ को स्थितिमा पुर्याउने माओवादीले लक्ष्य लिएको छ ।

फागुन १२ गते सोमबारबाट सुरु भएको माओवादी अभियान काठमाडौंमा राजावादी आन्दोलन बढेपछि बीचमै स्थगित गरी काठमाडौं केन्द्रित गरिएको थियो । चैत्र १५ गते राजावादीको आन्दोलनकै दिन माओवादी नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंमा जनसभा गरेको थियो । समाजवादी मोर्चाको जनप्रदर्शनले राजावादी आन्दोलनले थप क्षति गर्न नपाएको दावी माओवादीले गर्दै आएको छ ।