
शुक्रवार , चैत्र २८, २०८१
रुपन्देही, २९ चैत । सत्तारुढ नेकपा (एमाले) ले शुक्रबार (आज) रुपन्देहीको बुटवलमा जागरण सभा गर्ने भएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवलमा गर्न लागिएको हो । मुलुकको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यले एमालेले जागरण सभा गर्ने र आफ्नो धारणा जानकारी गराउने बताएको छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ वटा सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा (एमाले) प्रचार विभाग रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिकाविरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन् । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको र यो प्रदेशमा बुटवलमा गर्न लागिएको उनले बताइन् ।
‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भए पनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ उनले भनिन् ‘काम गर्दा केहीकमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’
पूर्वमन्त्री समेत रहेकी अर्यालले अहिले पनि हामीले चाहेजसरी काम गर्न नसकेको, नागरिकका सबै अपेक्षा पूरा गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रष्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताइन् ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले यो सभा एमालेको मात्र नभएर सबै गणतन्त्र पक्षधरको भएको जनाए । उनले भने, ‘आयोजक एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको कार्यक्रम हो यो । सभामा हजारौं नागरिक सहभागी हुनेछन् । यसले सन्देश दिने हो ।’
सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५ सय गाडीसहितको ¥याली निकालिने, त्यसपछि पूर्वमा गौतमबुद्ध मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij