
शुक्रवार , चैत्र २८, २०८१
भैरहवा, २९ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी पृथ्वीसुब्बा गुरुङले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने आफूहरुले चाहेको बताएका हुन् ।
शुक्रबार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरा सत्य नभएको पटकपटक भनिरहेको बताए। अहिले संविधान संशोधनको एजेण्डाको बारेमा छलफल भइरहेको उनको भनाइ छ ।
‘दुई दलबीच भएको सातबुँदे सहमतिमा एउटा बुँदा संविधान संशोधन पनि हो । सुशासन कायम गर्न र सार्वजनिक सेवा प्रभावकारी बनाउन तत्काल गर्न सकिने विषय हो, ’उनले भने–‘दुईवटा दलबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाखेरीको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरु पहिल्याउने कार्य हुँदैछ ।’
सरकारका प्रवक्ता समेत रहेका गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरु सतारुढ अरु दलहरुसँग दोस्रो चरणमा छलफल गरेर साझा एजेण्डा बनाउँदै प्रतिपक्षी दलहरुसँग पनि एजेण्डाहरुका विषयमा छलफल गरिने उनले बताए । ‘संविधान संशोधन गर्नेबित्तिकै बहुमतले जबरजस्ती गरेको अरुले भन्ने परिस्थिति नहोस्, ’उनले भने ।
नेकपा (एमाले) का उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले पर्यटनको विकास र नागरिकको सेवासुविधाका लागि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने बताए । यसका लागि सरकार र सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ ।अरुलाई दोष दिएर भन्दा पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने जिम्मा सरकार र सम्बन्धित मन्त्रालयको भएको उनले बताए । ‘विमानस्थल चलाउने नै सरकारको दृष्टिकोण छ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij