
शुक्रवार , चैत्र २८, २०८१
बुटवल, २९ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछु भन्नेहरुको प्रयास सफल नहुने बताएका छन् । एमाले जिल्ला कमिटी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरु सफल नहुने बताएका हुन् ।
एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी–विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिष गर्नेहरु असफल भएको उनले बताए । प्रधानमन्त्री ओलीले मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न नसक्ने धारणा राखे।
उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए। अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
उनले देशका ठुला दलहरु नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायीत्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएकाले गठबन्धन आगामी निर्वाचनसम्म जाने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने भन्दै सडक प्रदर्शनमा जानुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij