२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लोसपा रुपन्देहीद्वारा रक्तदान, २४ यूनिट रगत संकलन

शनिवार , चैत्र २९, २०८१

भैरहवा, ३० चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । भैरहवास्थित भीम अस्पताल परिसरमा आयोजित कार्यक्रममा २४ यूनिट रगत संकलन भएको लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारले बताए । नयाँ वर्ष २०८२ को पूर्व संध्यामा तथा हनुमान जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रौनियारले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लोसपाका केन्द्रीय वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले रगतको अभावमा बिरामीको ज्यानै जान सक्ने भएकाले रक्तदानको धेरै महत्व रहेको बताए । उनले अबका दिनमा विशेष गरी ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहेका शुक्लले स्वास्थ्य शिविर आयोजना गर्दा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेय, प्रदेश सभा सदस्य कन्हैया बनिया, भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा लगायतले रक्तदानको महत्वको बारेमा भनाइ राखेका थिए ।