२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय महिला क्रिकेट टीम भैरहवामा, रुपन्देही  क्रिकेट संघद्वारा स्वागत

शनिवार , चैत्र २९, २०८१

भैरहवा, ३० चैत । बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली रुपन्देहीको भैरहवा आएको छ । शनिबार उक्त टोली भैरहवा आएको हो । महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघ (कार)ले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेको छ ।

आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टीम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाणले जानकारी दिए ।

महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एशिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोद कुमार दासले बताए ।

संघका कोषाध्यक्ष खाणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भैरहवा आएका हुन् । ‘हामीले खेलाडीको हौसलाका लागि विमानस्थलमा गएर स्वागत गरेका हौं’, उनले भने, ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण भएको थियो । लगत्तै महिला टीमको बन्द प्रशिक्षण हुँदैछ । यो यस क्षेत्रका लागि सकारात्मक सन्देश हो ।’

उक्त टीमको आइतबारदेखि बैशाख १७ गतेसम्म भैरहवामा बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टीम थाइल्याण्ड प्रस्थान गर्नेछ । 

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले राष्ट्रिय टीमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । ‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टीमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’

National Womens Cricket Team (9) (1).jfif

इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टीमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ । महिला राष्ट्रिय क्रिकेट टिमको स्वागतका लागि संघका अध्यक्ष थापासहित, उपाध्यक्ष धिरज अधिकारी क्षेत्री, कोषाध्यक्ष खाण लगायत कार्यसमितिका सदस्यहरु गौतमबुद्ध विमानस्थल पुगेका थिए । क्रिकेट खेलाडीहरुलाई खादा र मालाले स्वागत गरिएको थियो ।