
सोमवार , बैशाख १, २०८२
तिलोत्तमा, १ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ नम्बर वडा कार्यालयले आयोजना गरेको ७ दिने अचार बनाउने तालिम आइतबार सम्पन्न भएको छ । वडा कार्यालयले सीप विकास तालिम अन्तर्गत उद्यमशीलता तालिमप्राप्त महिलाहरुका लागि आयोजना गरेको यो तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
समापन कार्यक्रममा तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले सिकेको सीपलाई सही ठाउँमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे । अब हरेक महिलाहरु व्यवसायिक बन्नुपर्ने भन्दै उनले गाउँघरमा उत्पादित वस्तुहरुको व्यवस्थापन र बजारीकरणका लागि नगरपालिका र वडाले सक्दो प्रयास गर्ने बताए । ‘तपाईहरु उत्पादन गर्नुहोस्, त्यसको बजार व्यवस्थापन गर्ने जिम्मा वडाको भयो ’उनले भने–‘आफूले सिकेको सीपको सही तरिकाले सदुपयोग गर्दै समूहमा मिलेर सानो लगानीबाट ठूलो उत्पादन गरी घरमै बसेर मनग्य आम्दानी गर्नुहोस् ।’ उनले वडाले वडाभित्र रहेका युवायुवती, महिलापुरुष सबैलाई वर्षेनी विभिन्न खालका सीपमूलक तालिमहरु दिनुको उद्देश्य आफ्नै गाउँघरमा बसेर केही न केही गरी आत्मनिर्भर बनुन् भन्ने रहेको बताए ।
प्रशिक्षार्थीकोतर्फबाट सबिता न्यौपाने धिताल, मिना काउचा, निर्मला तिवारी, निमकला लुइँटेल लगायतले तालिम निकै प्रभावकारी भएको बताए ।
वडाअध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पूर्ण प्रसाद आचार्य संजय, सीता खनाल लगायतले सीप सिकेर त्यसको सदुपयोग गर्नुपर्ने बताए ।
वडा सचिव कृष्ण बहादुर क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा सुन्दर टोल विकास समितिका अध्यक्ष देवी प्रसाद न्यौपाने, सुन्दर नमुना आमा समूहका अध्यक्ष पार्वती क्षेत्री, कुञ्ज आमा समूहका अध्यक्ष उमिसरा दर्लामी लगायतको उपस्थिति थियो ।
चैत २५ गतेदेखि सुरु भएको तालिममा ७५ जना महिलाहरुको सहभागीता थियो । तालिमको सहजीकरण भगवती बस्याल भट्टराईले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij