२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘दीपक बोहराको निधनले देशलाई अपूरणीय क्षति’

सोमवार , बैशाख १, २०८२

भैरहवा, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको निधनले देशलाई अपूरणीय क्षति पुगेको नेताहरुले बताएका छन् । उनीहरुले बोहराको निधनले रुपन्देही र राप्रपालाई मात्र नभइ सिंगो देशलाई नै क्षति पुगेको बताएका हुन् ।

राप्रपा रुपन्देहीले स्वर्गीय दीपक बोहराको स्मृतिमा आइतबार भैरहवामा आयोजना गरेको श्रद्धाञ्जली सभामा नेताहरुले रुपन्देही र देशले एउटा असल अभिभावक गुमाएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बोहराको निधनले रुपन्देही जिल्ला र समग्र राष्ट्रिय राजनीतिमा गम्भिर क्षति पुगेको बताए । ‘दीपक बोहरा सकारात्मक सोच भएको राष्ट्रवादी नेता हुनहुन्थ्यो, ’खाणले भने‘–नेपालको राष्ट्रियता र विकास निर्माणको सन्दर्भमा हामीले उहाँसँग सहकार्य गर्दै आयौं र राजनीतिक रुपमा प्रतिष्पर्धा पनि गर्यौं । सहकार्य र प्रतिष्पर्धा गर्दा उहाँमा उच्चस्तरको सोच र रचनात्मक उर्जा मैले पाएँ ।’

बोहरासँगै एउटै सरकारमा मन्त्री भएर र संविधान सभा सदस्य हुँदा पनि सँगै काम गरेको खाणले स्मरण गरे । रुपन्देहीको विकास यो जिल्ला र यहाँका जनताको मात्र नभइ समग्र नेपालको विकासका लागि आधारशिला हो भन्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ । बोहराको अभाव आफूले जीवनभरी महसुस गरिरहने उनले बताए ।

‘राप्रपामा धेरै राम्रा नेताहरु हुनुहुन्छ । तर, दीपक बोहरा जस्तो बहुआयामिक र डायनामिक नेताहरु कम हुनुहुन्छ, ’उनले भने–‘यत्तिको डायमानिक नेता नेपालमा धेरै कम छन् । दीपक दाईको मान्छे चिन्ने एउटा विशिष्ट क्षमता थियो । उहाँको विशिष्ट क्षमतालाई अगाडि बढाउन पाए हुन्थ्यो जस्तो लाग्छ । ’

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले दीपक बोहरा लामो समयसम्म राजनीतिमा स्थापित नेता भएको बताए । ‘रुपन्देही जिल्लामा उहाँले धेरै विकासका योजना ल्याउनुभयो । उनले भने-‘उहाँको भौतिक शरीर नरहे पनि निश्चित रुपमा दीपक बोहराको विचार यो समाजमा रहिरहन्छ । उहाँले गरेका कार्यहरु यो समाजले आत्मसात गरिरहनेछ ।’

संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रुपन्देही र देशका विकासको लागि दीपक बोहराको महत्वपूर्ण भूमिका रहेको बताए । ‘दीपक बोहराले पार्टीभन्दा माथि उठेर काम गर्नुहुन्थ्यो, त्यसैले सबैको प्यारो हुनुभयो । उहाँले राम्रो सन्देश दिनुभयो, नगरप्रमुख खाँले भने ।’

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले दीपक बोहराको निधनप्रति दुःख व्यक्त गरे । उनले बोहरासँग सहकार्य गरेर अगाडि बढेको स्मरण गरे ।

नेकपा (एमाले) रुपन्देहीका जिल्ला उपाध्यक्ष हितराज पन्थीले दीपक बोहराको योगदान नयाँ पुस्ताका लागि अनुकरणीय रहेको बताए । ‘बोहरा साहसी, शालिन र कुशल नेतृत्व गर्ने क्षमता भएको नेता हुनुहुन्थ्यो,’पन्थीले भने–‘उहाँले पुर्याएका योगदानलाई मागदर्शनको रुपमा लिएर अगाडि बढ्न सकिन्छ ।’ उनले विगतका निर्वाचनमा केही स्थानमा एमाले र राप्रपाबीच सहकार्य भएको स्मरण गरे । 

राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष सागर प्रताप राणाको अध्यक्षता तथा सचिव बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोहराको जीवनीबारे दिवाकर पाण्डेले प्रकाश पारेका थिए । दीपक बोहराको २०८१ चैत १९ गते ७४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।

IMG_2571.JPG
IMG_2569.JPG
IMG_2580.JPG
IMG_2578.JPG
IMG_2577.JPG
IMG_2601.JPG