
मंगलवार , बैशाख २, २०८२
काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषदले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् ।
उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पण सरकारको नेतृत्वबाट हुन नसकेको जिकिर गरे । नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे । यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको उनको भनाइ छ ।
त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा राखे । राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोषा जनतालाई महसुस गराउन सक्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij