
बुधवार , बैशाख ३, २०८२
भैरहवा, ३ वैशाख । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले समाजभन्दा माथि कोही नभएको बताएका छन् । उनले आफूहरु समाज मातहत नै रहेको बताएका हुन् ।
नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा मन्त्री कलवारले यस्तो बताए । उनले समयको पालना गर्न आवश्यक रहेकोमा जोड दिए । ‘समय भगवान हो, समय बलवान हुन्छ,’ उनले भने–‘सयमको कदर नगर्ने मान्छे सफल हुँदैन ।’
उनले वैश्य समाज एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । समाजमा एकता आवश्यक रहेको उनले बताए । मन्त्री कलवारले समाजसेवा गरे त्यसको फल मीठो हुने बताए । ‘समाजमा सेवा गर्नुहोस्, समस्या र पीडामा परेका व्यक्तिको साथमा उभिनुहोस्, ’उनले भने–‘नयाँ वर्ष २०८२ सबैका लागि राम्रो होस् । यहाँहरु सबैको प्रगति होस् ।’
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.) काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य कन्हैया बनियाले दृढ संकल्पका साथ अगाडि बढेको बताए । उनले एकता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नेपाल वैश्य युवा महासंघका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ता, वैश्य युवा संघ लुम्बिनी प्रदेश संयोजक अमित कुमार गुप्ता, रौनियार सेवा समाजका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, भैरहवा नमुना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ता, इन्जिनियर सीताराम भक्त, हलुवाइ समाज रुपन्देहीका अध्यक्ष ड. शम्भु कुमार गुप्ता जयसवाल सेवा समिति रुपन्देहीका महासचिव अर्जुन प्रसाद जयसवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, तेली कल्याण समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अजय कुमार गुप्ता, युवा नेता महेन्द्र गुप्ता (प्रशान्त), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियार लगायतले बोलेका थिए ।
नेपाल वैश्य युवा संघ रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दुको अध्यक्षता, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको प्रमुख आतिथ्यता तथा वैश्य युवा संघ रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रसाद कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij