
बिहिवार , बैशाख ४, २०८२
भैरहवा, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी राजावादीको ज्वरो आउँछ जस्तो नलागेको बताएका छन् । उनले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको दावी गरेका हुन् ।
माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान’ का क्रममा रुपन्देही आएका प्रचण्डले प्रेस सेन्टर नेपाल, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘अब चाहि फेरी राजावादीको बुखार (ज्वरो) आउँछ जस्तो हामीलाई लाग्दैन । उनीहरुको बेलुनको हावा चैत १५ गते नै खुस्कियो, अब यही रुपमा आउन सम्भव छैन,’ उनले भने–‘यद्यपि उनीहरुले यस्ता वितण्डा मच्चाइराख्ने हर्कत गर्न सक्छन् । त्यसकारण हामी सबै परिवर्तन, लोकतन्त्र, समावेशी र समानुपातिक पक्षधर सर्तक हुनुपर्छ ।’
चैत १५ गते गणतन्त्रवादीहरु (समाजवादी मोर्चा) को कार्यक्रम शान्त, सभ्यभव्य र शालिन रुपमा सम्पन्न भएको बताए । उनले राजतन्त्र वशंवादमा आधारित रहेको बताए । वंशवाद र लोकतन्त्रको सिद्वान्तलाई एकै ठाउँमा जोड्न नहुने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार असंवैधानिक रहेको दावी गरे । संविधानको मर्म र भावनाविपरीत यो सरकार हो भन्ने आफूहरुको आरोप रहेको र त्यो आरोप सही छ भन्ने पनि दावी रहेको उनले बताए ।
‘यो सरकारको जन्म नै आप्राकृतिक रुपमा भएकोले यो सरकारप्रति जनताको आशा र भरोषा नरहेको उनले आरोप लगाए । ‘भ्रष्टाचारी, दलाल र बिचौलियाको पहलमा बनेको सरकार हो, ’उनले भने–‘सरकारमा संलग्न मुख्य दल काँग्रेसभित्र चरम असुन्तष्टी र विरोध छ । एमालेभित्र पनि भुसको आगो जस्तै उकुसमुकुसको स्थिति छ । यो सरकार जति दिन चल्छ, नेपाल र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण स्थिति आउने हो ।’ यो सरकार ढालेर माओवादी केन्द्रलाई अहिले सरकारमा जान कुनै रुची र हतारो नरहेको अध्यक्ष प्रचण्डले दावी गरे ।
उनले माओवादी केन्द्रले जनताको अपार माया र स्वागत पाइरहेकोले जनताकै बीचमा आफूहरु रमाइरहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले सरकार गठन अघि संविधान संशोधन गर्छु भनेर झुक्याइएको बताए । ‘वर्तमान सरकारको संविधान संशोधन गर्ने मनसाय थिएन्, ’उनले भने–‘प्रधानमन्त्रीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने दिनुभएको सार्वजजिक अभिव्यक्तिबाट पनि पुष्टि हुन्छ ।’
उनले राजनीतिक स्थिरता, देशको विकास र समृद्धिको वातावरण बनाउन संविधान संशोधन जरुरी रहेको उनले बताए । संविधानमा रहेका त्रुटीहरुको समीक्षा गर्दै जनताको अधिकार खोस्ने नभइ अधिकार थप्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने गरी संशोधन गर्नुपर्ने उनको भनाइ छ । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नेपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij