२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समिति बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रमअनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले बैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ भने उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्दै संगठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताए ।
 
त्यस्तै बैठकले चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आफ्ना नेताको रिहाइका लागि कानूनी तथा राजनीतिक दुवै लडाईलाई सशक्त रुपमा लैजाने निर्णय भएको लिङदेनले बताए । उनले पार्टीका सबै आन्दोलनका कार्यक्रमलाई व्यवस्थिति गर्न विशेष कमिटी बनाउने निर्णय भएको जानकारी दिए ।

उहाले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको धारणा राखे । निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरु सामूहिक रुपमा थुनामा जान तयार भएको उनले बताए ।