
बिहिवार , बैशाख ४, २०८२
काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसले सत्तागठबन्धनसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले बताए । प्रवक्ता महतले नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता देखिएको धारणा राखे ।
तालमेल र समन्वयका विषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उनले बताए । । प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने जिकिर गरे ।
बैठकमा आगामी केन्द्रीत समिति बैठकमा लैजाने एजेण्डा, संगठनका विषय, शिक्षक आन्दोलन लगायतका विषयमा छलफल भएको प्रवक्ता महतले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij