
आइतवार , बैशाख ७, २०८२
रुपन्देही, ७ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचीकृत गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताएका हुन् ।
जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने जानकारी दिए । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए । उनले भने, ‘नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ । इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौं ।’
मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उनले भने–‘उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौं ।’
त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताए । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे ।
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।
हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवद्र्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो ।
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि.सं. १८७१ सालदेखि सुरु भएको पटकपटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।
अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij