२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई राप्रपा रुपन्देहीको ज्ञापनपत्र

मंगलवार , बैशाख ९, २०८२

भैरहवा, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत ७ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र आयोग गठन, छानबीनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरु सबिन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था, झुटा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था तथा पार्टीले पेश गरेको ४० बुँदे मागउपर नवीन समक्षदारीका लागि वार्ता टोली गठनको माग गर्दै ज्ञापनपत्र बुझाइएको राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले बताए । 

‘चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन राज्य पक्षबाट भएको क्रियाकलापप्रति राप्रपा गम्भिर दुःख व्यक्त गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै सभामा भाग लिएको प्रदर्शनमा सहभागी भएको आधारमै राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्ता गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्दै ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । धर्नापछि आयोजित सभामा राप्रपाका सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए । नेताहरुले मुलुकमा व्यवस्था परिवर्तन गर्न नेपाली जनताले पूर्ण साथ दिने दावी गरे । उनीहरुले मुलुकमा भ्रष्टाचारको सीमा नाघेको बताए ।

IMG_3543.JPG