२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बिहीबार रुपन्देहीमा हुने मिडिया मन्थनको तयारी पूरा

बुधवार , बैशाख १०, २०८२

रुपन्देही, १० वैशाख । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा वैशाख ११ गते बिहीबार (भोली) बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा  चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा बुधबार  पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

बिहीबार दिउँसो आयोजना हुने उक्त कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रको विषय बहस हुने बताइएको छ ।

मिडिया मन्थनमा पत्रकार पेशागत सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रक्रृषि चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे र लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना प्यानलिस्टको रुपमा रहनेछन् । उक्त कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार भवानी पाण्डेले गर्नेछन् ।

त्यसै गरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे रहेका छन् भने सहजर्ताको रुपमा सिपी खनाल रहेका छन् । 

त्यसै गरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाज लुम्बिनीका अध्यक्ष नवराज कुवर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारी रहेका छन् । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सी. रहेका छन् ।

त्यसै गरी मिडिया मन्थनको आम सञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडिया अनुसन्धानकर्ता उज्जवल आचार्य, लुम्बिनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, बिबिसीका सम्वाददाता माधब नेपाल र देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका छन् । उक्त कार्यक्रमको सहजकर्ता पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार रहेका छन् । 

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा पहिलोपटक आयोजना हुन गइरहेको मिडिया मन्थन कार्यक्रमको तयारी पूरा भएको र कार्यक्रममा सञ्चारकर्मीको साथै आम नागरिकलाई पनि सहभागी हुन महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आग्रह गरे ।

पत्रकार महासंघ रुपन्देहीले तीन दिनदेखि तीनतहका सरकारका अधिकार र तीनको कार्यान्वयनको अवस्था सम्बन्धमा लेखनवृत्ति तालिम पनि गरिरहेको छ । तालिममा पूर्व मुख्य सचिव सोमलाल सुवेदी, अग्रज पत्रकार शेर बहादुर के.सी.ले विभिन्न विषयमा तालिम दिएका थिए ।

त्यसै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, बुटवल उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख रोशन कुमार रेग्मीले समेत स्थानीय सरकारका अभ्यासको बारेमा प्रकाश पारेका थिए ।

त्यसै गरी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा देवी अर्यालले स्थानीय सरकार सञ्चालन र मिडियाको भूमिका विषयमा प्रकाश पारेका थिए ।

तालिमको अवसरमा मंगलबार वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघीयता र कानून कार्यन्वयन अवस्थाको बारेमा तालिम दिने महासंघका सचिव सिपी खनालले बताए ।