
शुक्रवार , बैशाख १२, २०८२
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको बताएका छन् । पाल्पाको रामपुरमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको र ती गरेका कामहरूलाई जनस्तरसम्म पुर्याउन पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा उनले जोड दिए । उनले सडक पूर्वाधार, खानेपानी, सिंचाई, पर्यटन लगायतका आयोजनाहरूलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले पाल्पा जिल्लामा योजनाहरू कार्यान्वयन गरेको जानकारी दिदै ती योजनाहरूको सदुपयोग र परिणाममा ध्यान दिन आग्रह गरे ।
‘काम नभएको होइन, प्रशस्त भएका छन् । ती कामको बारेमा हामीले खुलेर प्रचार गर्न सकेनौं कि, बताउन सकेनौं कि । प्रदेश सरकार बनेदेखि थुप्रै कामहरू यहाँहरूको बस्तीमा पुगेका छन्’ उनले भने, ‘सिंचाईका आयोजना हुन् या खानेपानीका, सबै ठाउँमा सरकारले ध्यान दिएको छ ।’
लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम–उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर निर्माणको काम जारी राखेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij