
शुक्रवार , बैशाख १२, २०८२
बुटवल, १२ वैशाख । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटी, रुपन्देहीको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिन बहादुर गुरूङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिति र पुर्नउत्थानवादी शक्तिहरु सलबलाउन थालेको बताए । सत्तासिन दलहरुको असफलता र अर्कमण्यका कारण पुर्नउत्थानवादी शक्तिहरुले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए । उनले दलहरुबीच एजेण्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा पनि सोहीअनुसार जानुपर्नेमा अहिले स्वार्थ केन्द्रीत भएको बताए । जनताको आवश्यकता र जनजीविकाका सवालमा मुख्य सत्तासिन दलहरुले ध्यान नदिदा नागरिकमा असन्तुष्टि बढेको उनको भनाइ छ ।
केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख एजेण्डा हुनुपर्ने बताए । उनले नेकपा (एकीकृत समाजवादी) ले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्दालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकीकृत गरी राष्ट्रिय सम्मेलनमार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका विषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं’ उनले भने ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटी चयन गरिने सचिव लोकराज शर्माले बताए ।
पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगर उपाध्यक्ष रुक्मांगत घिमिरेले उपमहानगर कमिटीको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
पत्रकार सम्मेलनमा नेकपा (एस) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij