
मंगलवार , चैत्र १०, २०७७
तिलोत्तमा, १० चैत ।
तिलोत्तमा फुटबल एकेडेमीले आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको छ । तिलोत्तमा नगरपालिका संरक्षक रहने गरी एकेडेमीले आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप–२०७८’ आयोजना गर्ने भएको हो ।
तिलोत्तमामा व्यवसायिक रुपमा फुटबल प्रशिक्षणको सञ्चालन गर्न लागिरहेको एकेडेमीले विगतका वर्षहरुमा ‘मेयर कप’ तथा ‘वडा कप’ आयोजना गर्दै आएकोमा आगामी वर्षदेखि आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको हो ।
विभिन्न जिल्लाका १६ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५० नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टिमले २५ हजार ५२५ नगद राशी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी गराए ।
तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा हुने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवार्डर, उत्कृष्ट मिड फिल्डर तथा म्यान अफ दी म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । खेलमा सहभागिताका लागि ३ हजार ५ सय प्रवेश शुल्क राखिएको प्रतियोगिता आयोजना गर्न ७ लाख ५० हजार बढी खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
एकेडेमीले नयाँ शैक्षिक सत्रदेखि नियमित रुपम प्रशिक्षण सुरु गर्ने भएको छ । प्रशिक्षका लागि तिलोत्तमा–४ विष्णुपुरमा रहेको ज्ञानगंगा पाठशालासँग ३ वर्षका लागि सम्झौता गरेको छ भने विद्यालय नजिकै रहेको ८ कठ्ठा जमिन लिजमा लिएर खेल गतिविधि सञ्चालन गर्ने भएको छ । एकेडेमीले मैदान निर्माणको कामलाई तीव्रता दिइरहेको एकेडेमीका अध्यक्ष नेपालीले जानकारी गराए ।
वैशाखदेखि सञ्चालन हुने प्रशिक्षणका लागि दर्जन बढी विद्यार्थीका अभिभावक सम्पर्कमा आइसकेको जानकारी गराउँदै उनले सहभागी हुन चाहाने अन्य विद्यार्थीलाई भर्ना गर्ने क्रम जारी रहेको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रशिक्षक यम गुरुङ मूख्य प्रशिक्षकका रुपमा रहने एकेडेमीमा मासिक १२ हजार शुल्क तिरेर विद्यार्थीहरुले प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij